पर्सामा धान उत्पादन १२ प्रतिशतले घट्यो

याे वर्ष जिल्लाभर ४७ हजार १ सय ३० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा प्रतिहेक्टर ३ दशमलव ६७ मेट्रिक टनको दरले १ लाख ७२ हजार ९ सय ६७ मेट्रिक टन धान उत्पादन भएको छ।

चैत्र ६, २०८२

शंकर आचार्य

Paddy production in Parsa drops by 12 percent

पर्सा — पर्सामा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ। कृषि ज्ञान केन्द्र पर्साका अनुसार गत वर्षको तुलनामा यस वर्ष २४ हजार ९ सय ९७ मेट्रिकटनले धान उत्पादन घटेको छ।

याे वर्ष जिल्लाभर ४७ हजार १ सय ३० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा प्रतिहेक्टर ३ दशमलव ६७ मेट्रिक टनको दरले १ लाख ७२ हजार ९ सय ६७ मेट्रिक टन धान उत्पादन भएको छ।

गत आर्थिक वर्षमा सोही क्षेत्रफलमा प्रति हेक्टर ४ दशमलव २ मेट्रिक टन उत्पादनदरका आधारमा १ लाख ९७ हजार ९ सय ४० मेट्रिक टन धान उत्पादन भएको थियो। यसरी यस वर्ष धानको उत्पादन १२ दशमलव १६ प्रतिशतले घटेको हो ।

कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरका अनुसार असोजमा परेको बेमौसमी वर्षा र त्यससँगै आएको बाढीले धान बालीमा गम्भीर क्षति पुर्‍याएको हो। ‘यस वर्ष सुक्खाका कारण रोपाइँ ढिलो भयो,’ उनले भने, ‘त्यसपछि दाना लाग्ने समयमा परेको भारी वर्षा र बाढीले बालीमा थप क्षति पुग्यो।’

जिल्लाका अधिकांश स्थानीय तहमा धान मुख्य बालीका रूपमा लगाइने भएकाले उत्पादन घट्दा किसानको आयमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully