सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम बरामद गरेको हो ।
पर्सा — सशस्त्र प्रहरी बल नेपालले वीरगन्जस्थित भन्सार क्षेत्रबाट स्रोत नखुलेको २० लाखभन्दा बढी नगदसहित एकजनालाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान साढे ११ बजेतिर वीरगन्ज महानगरपालिका-१६ स्थित भन्सार मेनगेटमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय वीरगन्जबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर बिआर ०५ बिके ८६०३ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम बरामद गरेको हो ।
जाँचका क्रममा मोटरसाइकल चालक वीरगञ्ज-१७ अलौ निवासी अन्दाजी ५० वर्षीय विनयशंकर साह तुरहाले मोटरसाइकलको सिटमुनि प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा नगद बरामद भएको हो । मोटरसाइकलबाट नेपाली रुपैयाँ १ हजार दरका १ हजार ३ सय २ थान गरी १३ लाख २ हजार, ५ सय दरका १ हजार ४ सय थान गरी ७ लाख रुपैयाँ, ५० दरको १ थान ५० रुपैयाँ तथा भारतीय रुपैयाँ १ सय दरका ६ थान गरी जम्मा स्रोत नखुलेको नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय रुपैयाँ ६ सय बरामद भएको छ ।
त्यसैगरी, तुरहाको साथबाट एक थान मोबाइल र वीरगञ्ज भन्सार एजेन्ट संघ पर्साको परिचयपत्रसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका व्यक्ति, नगद तथा मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन् ।
