सिरहा कारागारभित्रै स्वास्थ्य शिविर

कारागारभित्र बुधबार दिनभर चलेको शिविरका क्रममा २ सय २७ जना कैदीबन्दीको आँखा तथा कानको नि:शुल्क चेकजाँच भएको छ ।

चैत्र ४, २०८२

विनय आजाद

Health camp inside Siraha Prison

सिरहा — जिल्ला सदरमुकामस्थित कारागारमा आँखा तथा कान जाँच शिविर सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिरहा र कारागार कार्यालय, सिरहाले सगरमाथा चौधरी आँखा अस्पताल, लहानसँग सहकार्य गरी कारागारमा शिविर चलाइएको हो ।

कारागारभित्र बुधबार दिनभर चलेको शिविरका क्रममा २ सय २७ जना कैदीबन्दीको आँखा तथा कानको नि:शुल्क चेकजाँच भएको छ । जसमध्ये १३ जनामा मोतियाबिन्दु पहिचान भएको छ ।

यसैगरी, १२ जनालाई पावरवाला चस्मा र उनीहरूसहित अन्य कैदीलाई नि:शुल्क रूपमा औषधि प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख वासुदेव पाठकले बताए । मोतियाबिन्दु पहिचान भएका कैदीलाई भने शल्यक्रिया गरिने उनले जनाए ।

यस्तै, यस कारागारभित्र कैदीबन्दीहरूलाई 'फ्रेस' बनाउन चलचित्र प्रदर्शनसमेत थालिएको छ । विभिन्न मुद्दामा पुर्पक्ष तथा दोषी ठहर भएर कारागारमा रहेका कैदीबन्दीलाई सच्चिन प्रेरित गर्ने खालका चलचित्र प्रदर्शन गर्न थालिएको हो ।

यसरी कारागारमा पछिल्लोपटक गत फागुन २७ गते साँझ प्रोजेक्टरका माध्यमले ३ घण्टासम्म चलचित्र देखाइएको थियो भने केही समयको अन्तरालमा पुन: देखाउने गरी यसलाई निरन्तर दिने एसपी पाठकले बताए ।

'उनीहरू त्यहाँ गुम्सिएर बस्छन्, यसले फ्रेस बनाउँछ, अर्को मूल कुरा भनेको हामीले चलचित्रका माध्यमले उनीहरूलाई सच्चिन र असल मानिस बन्न प्रेरित गर्छ कि भन्ने चाहेका हौं,' पाठकले कान्तिपुरसित भने, 'कारागारलाई यातनागृह होइन, सुधारकेन्द्रका रूपमा लैजानुपर्छ ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully