प्रदेश बाल सञ्जाल, जिल्ला बाल सञ्जाल, जेन–जी सप्तरी, खडक नगरपालिका युवा सञ्जालका सदस्यहरुले सप्तरीका प्रजिअ टुवराज पोखरेललाई ज्ञापन बुझाएका हुन् ।
राजविराज — बालअधिकारका क्षेत्रमा क्रियाशील आधा दर्जन संघसंस्थाआवद्ध पदाधिकारीले जघन्य घटना भएको लामो समय बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको भन्दै सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएका छन् ।
प्रदेश बाल सञ्जाल, जिल्ला बाल सञ्जाल, जेन–जी सप्तरी, खडक नगरपालिका युवा सञ्जाल र बाल क्लबका पूर्वसदस्यहरुले सप्तरीका प्रजिअ टुवराज पोखरेललाई ज्ञापन बुझाएका हुन् ।
ज्ञापन पत्रमा गत वैशाख १ राति सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरकी १७ वर्षीया पूजाकुमारी रामको बलात्कारपछि हत्या हुँदासमेत पीडित परिवारले अझ न्याय नपाएको उल्लेख छ ।
सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिशा विकमाथि सामूहिक बलात्कारपछि हत्या भएको घटनाले पनि सिंगो समाजलाई स्तब्ध बनाएको ज्ञापनमा उल्लेख गरिएको छ । ‘पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार तथा शोषण घटनाहरु निरन्तर बढ्दो छ । बालिका र किशोरीहरुको सुरक्षा, संरक्षण र न्याय सुनिश्चित गर्ने समाज र राष्ट्रको दायित्वमाथि गम्भीर प्रश्न उठाएको छ’ ज्ञापन पत्रमा भनिएको छ, ‘ती घटनाको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ तर बालबालिका संरक्षण सम्बन्धी मौलिक अधिकारको प्रभावकारी कार्यान्वयन अझ हुन सकेको छैन् ।’
उनीहरुले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक हुनुपर्ने, संलग्नलाई कानुन बमोजिम कारबाही हुनुपर्ने, न्यायिक प्रक्रिया अन्तर्गत पीडित परिवारले सहयोग र उचित क्षतिपूर्ति पाउनु हुनुपर्ने माग गरेका छन् । अनुसन्धान र न्यायिक प्रक्रियामा संवेदनशीलता अपनाउँदै पीडित परिवारको सम्मान र गोपनीयता सुनिश्चित हुनुपर्ने, राज्यका सम्बन्धित निकायहरुले प्रभावकारी रुपमा कानुन कार्यान्वयन हुनुपर्ने ज्ञापन–पत्रमा माग गरिएको छ ।
