अटोमा लोड गरिएको ४ वटा बोरा खोलेर चेक गर्दा त्यसभित्र कालो प्लास्टिक बेरिएको ६ वटा पोकामा गाँजा बरामद भएको हो ।
राजविराज — सप्तरीको तिरहुत गाउँपालिका–२ बडहराबाट शनिबार राति एक क्विन्टलभन्दा बढी गाँजासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–७ सितापुरका ४३ वर्षीय ओम प्रकाश भन्ने जामुन महतो र सोही ठाउँकी २८ वर्षीया कबिताकुमारी माझी रहेका छन् ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले डिमनतर्फ गइरहेको प्र.२–०१–००१ ह ००२२ नम्बरको अटोबाट १ सय ५ किलो गाँजा बरामद गरेको हो । अटोका चालक महतो र उनको दाहिनेपट्टि अटोमा बसेकी माझीलाई नियन्त्रणमा लिइएको हो ।
अटोमा लोड गरिएको ४ वटा बोरा खोलेर चेक गर्दा त्यसभित्र कालो प्लास्टिक बेरिएको ६ वटा पोकामा गाँजा बरामद भएको हो ।
पक्राउ परेका दुवै जनामाथि म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बताए । त्यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
