मधेश प्रदेशका पाँचवटा उद्योगका गुनासो सुनुवाइ संयन्त्रका सदस्यहरूलाई कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुर्व्यवहारको सम्बोधन गर्ने विषयमा प्रयोगात्मक तथा व्यावहारिक तालिम प्रदान गरिएको हो।
पर्सा — प्रतिष्ठानस्तरमा गुनासो व्यवस्थापन संयन्त्र सञ्चालन समितिका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तथा व्यावहारिकसम्बन्धी एकदिने तालिम वीरगन्जमा सम्पन्न भएको छ।
महिला सशक्तिकरण, समृद्ध नेपाल कार्यक्रमअन्तर्गत शनिबार आयोजित उक्त तालिममा विभिन्न उद्योगका गुनासो सुनुवाइ संयन्त्रका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले कार्यस्थललाई सुरक्षित, मर्यादित र समानतामूलक बनाउन गुनासो व्यवस्थापन संयन्त्र प्रभावकारी हुनुपर्ने आवश्यकता औंल्याए । उनले उद्योग व्यवसायमा कार्यरत श्रमिकहरूको अधिकार संरक्षण तथा कार्यस्थलमा उत्पन्न हुने विभिन्न समस्या समाधानका लागि यस्ता तालिम उपयोगी हुने बताए ।
सहायक निर्देशक हरि पौडेलले कार्यक्रमको उद्देश्य तथा सञ्चालनबारे प्रस्तुति दिएका थिए । युरोपियन युनियनको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघअन्तर्गतका चार संस्थामध्ये अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा महासंघद्वारा सन्चालित ‘महिला सशक्तिकरण, समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।
कार्यक्रमका संयोजक वासुदेवलाल कर्णका अनुसार मधेश प्रदेशका पाँचवटा उद्योगका गुनासो सुनुवाइ संयन्त्रका सदस्यहरूलाई कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुर्व्यवहारको सम्बोधन गर्ने विषयमा प्रयोगात्मक तथा व्यावहारिक तालिम प्रदान गरिएको हो।
तालिममा सहभागीहरूलाई अधिवक्ता शर्मिला श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् । उनले कार्यस्थलमा हुने लैङ्गिक हिंसा न्यूनीकरण, गुनासो व्यवस्थापन संयन्त्रको प्रभावकारी सन्चालन तथा सुरक्षित कार्य वातावरण निर्माणका विषयमा विस्तृत जानकारी दिइन् ।
