आफैंलाई भोट नहालेर १८ उम्मेदवारलाई उछिन्दा चकित छन् सन्तोष

उम्मेदवारीपछि घरदैलो गर्नु, भोट माग्नु त परै जाओस्, उनले आफ्नै भोट पनि आफूलाई हालेनन् । तर, १८ जना उम्मेदवारलाई उछिन्दा चकित छन् ।

फाल्गुन ३०, २०८२

विद्यानन्द राम

Santosh is surprised to be ahead of 18 candidates without voting for himself.

What you should know

राजविराज — चुनावी लहर देखेर लहै–लहैमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए, सप्तरीको राजविराज नगरपालिका–१२ सिंग्यौनका ४५ वर्षका सन्तोषकुमार रजकले । दलित समुदायका भएकाले पनि ५ हजार रुपैयाँ मात्रै दस्तुर तिर्नुपर्दा सप्तरी–२ बाट स्वतन्त्र उम्मेदवारी दिएर घर फर्किए ।

त्यसपछि उनले आफु उम्मेदवार रहेको प्रचार पनि गरेनन् । उनले पाएको दुरबिन चुनाव चिन्हको विषयमा पनि मतदातासमक्ष चर्चासम्म गरेनन् । घरदैलो गर्नु, भोट माग्नु त परै जाओस्, उनले आफ्नै भोट पनि आफैंलाई हालेनन् । तर, १८ जना उम्मेदवारलाई उछिन्दा उनी आश्चर्यचकित छन् ।

राजविराज–४ कुनौली मोडमा सन्तोष मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका उनी भन्छन्, ‘त्यसै अरुलाई हेरेर म पनि उम्मेदवारी दिइहाले, जित्न नसक्ने सोचेर कतै आफ्नो प्रचार नगरी काममा फर्किए ।’ उनी राजविराज–४ कुनौली मोडमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका छन् । 

कतिपय पार्टीका र स्वतन्त्र उम्मेदवारभन्दा बढी मत आएको हेर्दा आश्चर्य लागेको सन्तोष बताउँछन् । ‘खै, कसरी मलाई भोट आयो, विश्वासै लागेको छैन्,’ उनले भने, ‘मेरो गाउँमा त कसैले मेरोमा भोट हालेको छैन् । सायद कसै–कसैलाई चुनाव चिन्ह राम्रो लागेर दिएको हुनसक्छ ।’ आफू जित्ने स्थिति नभएकाले आफैंले पनि भोट अर्कै चिन्हमा दिएको सन्तोषले बताए । 

उनलाई कुल ३४ जना उम्मेदवार रहेको यहाँ नेपाल संघीय समाजवादी पार्टी, आम जनता पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, सर्वभौम नागरिक पार्टी, नेपालका लागि नेपाली पार्टीका उम्मेदवार र अन्य १३ जना स्वतन्त्र उम्मेदवारभन्दा बढी मत आएको छ ।

यहाँ नेपाल संघीय समाजवादी पार्टीका राजकुमार मण्डलले २३, आम जनता पार्टीका सुनिलराज दासले २६, जनता लोकतान्त्रिक पार्टी नेपालका बलरामप्रसाद यादवले २९, सर्वभौम नागरिक पार्टीका दिपकमुमार मण्डलले ५८, नेपालका लागि नेपाली पार्टीका इन्द्रसागर गुप्ताले ६३ मत ल्याएका हुन् ।

स्वतन्त्र उम्मेदवार सन्तोषले ६६ मत पाउँदा अन्य स्वतन्त्र उम्मेदवारहरु अभिनाषकुमार सिंहले २, सञ्जयकुमार चौधरीले ४, साधन दासले ४, सुशीलाकुमारी साह र प्रेमकुमार यादवले ९–९, अम्विकादेवी साफीले ११, किसुनदेव रामले १२ मत ल्याएका छन् । 

विन्दुकुमारी चौधरी तथा रामविलास ठाकुरले १३–१३, पारशमणि यादवले २०, जितेन्द्रकुमार यादवले २२, विनोदानन्द झाले २५ र विशेश्वर यादवले ३३ मत ल्याएका छन् । कुल १ लाख ५ हजार ९ सय २२ जना मतदाता रहेको यस क्षेत्रमा ३५ हजार ५ सय ४३ महिला र ६८ हजार ५ सय ४० पुरुष गरी ६८ हजार ५ सय ४० जनाले मतदान गरेका थिए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully