डिभिजन वनले राष्ट्रिय वन क्षेत्रको संरक्षणका लागि अवैध रूपमा घर निर्माण नगर्न तथा वन अतिक्रमण नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ। तर स्थानीयले त्यसलाई टेरेका छैनन्।
रौतहट — रौतहटको चन्द्रपुर–६ बेल्डीस्थित राष्ट्रिय वन मासेर अवैध रूपमा निर्माण गरिएका ६ वटा घरटहरा भत्काइएको छ। पछिल्लो समय यस क्षेत्रमा वन अतिक्रमण गर्ने समूह सक्रिय हुँदै आएको छ।
चन्द्रपुर सब–डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर र रंगपुर साझेदारी वन उपभोक्ता समूहको संयुक्त टोलीले वन क्षेत्रमा बनाइएका ६ वटा अवैध घर तथा छाप्रा भत्काई अतिक्रमण हटाएको डिभिजन वन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए। बिहीबार राति अबेरसम्म त्यस क्षेत्रका घरटहरा हटाइएको हो। घर भत्काइएको क्षेत्रमा वनले निगरानी बढाएको जनाएको छ।
वन कर्मचारीहरू निर्वाचनमा खटिएका बेला केही स्थानीयले वन क्षेत्रमा रातारात घर तथा छाप्रा बनाएका थिए। ‘उक्त वन क्षेत्र खाली गराउन अवैध संरचना हटाएका हौं,’ उनले भने, ‘वन मासेर घर बनाउने काम रोक्ने प्रयास गरिरहेका छौं। कुनै बहानामा वन अतिक्रमणलाई छुट दिँदैनौं।’
डिभिजन वनले राष्ट्रिय वन क्षेत्रको संरक्षणका लागि अवैध रूपमा घर निर्माण नगर्न तथा वन अतिक्रमण नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ। तर स्थानीयले त्यसलाई टेरेका छैनन्। दिनहुँजसो जिल्लाका विभिन्न स्थानमा अतिक्रमण बढिरहेको छ। जिल्लाको कुल २९ हजार ४ सय ३६.३३० हेक्टर राष्ट्रिय वन क्षेत्र रहेको छ। पछिल्लो समय ३ हजार १ सय ९०.५२० हेक्टर वन अतिक्रमणको चपेटामा परेको वन कार्यालयले जनाएको छ।
जिल्लाको बागमती, बलरीखोर, मैरा, चन्द्रपुर, जुडिबेला र गैँडाटार क्षेत्रमा अतिक्रमण हुने गरेको छ। यसअघि डिभिजन वनले गैँडाटार, पौराई, वृन्दावन र धन्सार क्षेत्रमा १७ हेक्टर राष्ट्रिय वनमा लगाइएको मकैबाली तथा तारबार हटाई वन क्षेत्र कायम गराएको वन प्रमुख साहले बताए।
