निर्माण भइरहेको प्लान्टले दैनिक करिब २० मेट्रिक टन प्लास्टिकजन्य फोहर प्रशोधन गर्ने क्षमता राख्नेछ।
What you should know
पर्सा — वीरगन्ज महानगरपालिकाको फोहर व्यवस्थापन केन्द्रमा निर्माणाधीन प्लास्टिकजन्य फोहर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ। महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिक फोहरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यले उक्त प्लान्ट निर्माण गरिएको हो।
महानगरपालिकाले फोहर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउने नीतिअनुरूप प्रशोधन केन्द्रभित्र आधुनिक प्रविधियुक्त प्लान्ट निर्माण गरिरहेको जनाइएको छ। प्लान्ट सन्चालनमा आएपछि वीरगन्ज महानगरभित्र दैनिक संकलन हुने प्लास्टिकजन्य फोहर छुट्याएर प्रशोधन गरिने र त्यसलाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीमा रूपान्तरण गरिनेछ।
महानगरपालिकाका वन तथा वातावरण शाखा प्रमुख राकेश साहका अनुसार सूर्य नेपाल प्रालिको करिब चार करोड रुपैयाँ लगानीमा प्लान्ट निर्माण भइरहेको हो। उनका अनुसार निर्माण कार्य अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
निर्माण भइरहेको प्लान्टले दैनिक करिब २० मेट्रिक टन प्लास्टिकजन्य फोहर प्रशोधन गर्ने क्षमता राख्नेछ। वीरगन्ज महानगर क्षेत्रमा हाल दैनिक करिब ६० देखि ६५ टन फोहर संकलन हुँदै आएको छ। तीमध्ये प्लास्टिकजन्य फोहोरलाई छुट्याएर प्लान्टमार्फत प्रशोधन गरिने व्यवस्था मिलाइनेछ।
गत असोज महिनामा वीरगन्ज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रालिबीच फोहरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएपछि परियोजना कार्यान्वयन सुरु गरिएको हो। उक्त सम्झौताअनुसार निजी क्षेत्रको लगानी र सहकार्यमा महानगरको फोहर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
बुधबार महानगर प्रमुख राजेशमान सिंह र सूर्य नेपाल प्रालिका उद्योग प्रमुख सुरेशकाजी महर्जनसहितको टोलीले निर्माण स्थल पुगेर प्लान्टको प्रगति निरीक्षण गरेको थियो। टोलीले निर्माण कार्यको अवस्था, प्राविधिक पक्ष तथा सन्चालन प्रक्रियाबारे जानकारी लिएको थियो।
निर्माण सम्पन्न भएपछि उक्त प्लान्ट वीरगन्ज महानगरपालिकालाई हस्तान्तरण गरिनेछ। त्यसपछि महानगरपालिकाले प्लान्ट सन्चालन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ भने प्राविधिक जनशक्ति व्यवस्थापन जिरो वेस्ट इनिसिएटिभ नेपालले गर्ने जनाइएको छ।
स्थलगत निरीक्षणका क्रममा महानगर प्रमुख सिंहले वीरगन्जलाई फोहरमुक्त र हरित सहर बनाउने दीर्घकालीन लक्ष्यअनुसार प्लान्ट निर्माण गरिएको बताए। उनका अनुसार यस परियोजनाले प्लास्टिकजन्य फोहर व्यवस्थापनमा नयाँ चरणको सुरुवात गर्नेछ। ‘अब फोहरलाई समस्या मात्र होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढिरहेको छ,’ उनले भने।
महानगरपालिकाका अनुसार प्लान्ट सञ्चालनमा आएपछि सहरभरिबाट संकलित फोहरलाई वर्गीकरण गरी प्लास्टिकजन्य फोहर छुट्याएर प्रशोधन गरिनेछ र त्यसलाई पुनः प्रयोगयोग्य सामग्रीमा रूपान्तरण गरिनेछ। यसले फोहोर व्यवस्थापन प्रणालीमा सुधार ल्याउने तथा वातावरण संरक्षणमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।
सूर्य नेपाल प्रालिका उद्योग प्रमुख महर्जनले कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त परियोजनामा लगानी गरेको बताए। उनका अनुसार उद्योगले नाफामुखी व्यापारसँगै समाज र वातावरणप्रति उत्तरदायी रहने प्रतिबद्धतासहित यो परियोजनामा सहकार्य गरेको हो।
