जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार नेपाल आयल निगम तथा ग्यास विक्रेता संघले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा इन्धन र ग्यासको पर्याप्त मौज्दात रहेको छ ।
पर्सा — पर्सामा ग्यास, पेट्रोल र डिजेलको अभाव नरहेको भन्दै जिल्ला प्रशासनले अनावश्यक हल्ला नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार नेपाल आयल निगम तथा ग्यास विक्रेता संघले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा इन्धन र ग्यासको पर्याप्त मौज्दात रहेको छ ।
ग्यास, डिजेल र पेट्रोलको आयात नियमित रूपमा भइरहेकाले तत्काल अभाव नहुने प्रशासनले जनाएको छ । पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको अध्यक्षतामा मंगलबार बसेको सरोकारवालाको बैठकले इन्धन तथा ग्यासको कृत्रिम अभाव सिर्जना हुने गतिविधि हुन नदिन निगरानी कडा बनाउने निर्णय गरेको छ । बैठकले अनावश्यक रूपमा ग्यास, डिजेल र पेट्रोलको भण्डारण नगर्न र बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य नगर्न सबैलाई आग्रह गरेको छ । साथै डिजेल र पेट्रोलको ग्यालन, ड्रम आदिमा खुला बिक्री वितरण नगर्न पनि निर्देशन दिइएको छ ।
त्यसैगरी ग्यास डिलरहरूले बिक्री वितरण गरेका उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा ग्यास उद्योगमा उपलब्ध गराउने निर्णय भएको छ । ग्यास उद्योगहरूले पनि आफ्नो डिलरहरूलाई बिक्री गरिएको ग्यास सिलिन्डरको परिमाणसहितको विवरण दैनिक रूपमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज र नेपाल आयल निगम शाखा कार्यालय पर्सालाई इमेलमार्फत अनिवार्य जानकारी गराउने निर्णय गरिएको छ ।
बैठकमा नेपाल आयल निगम, ग्यास उद्योग, ग्यास डिलर तथा उद्योग–व्यापार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
