जन्ती बोकेको कार दुर्घटना, चालकको मृत्यु

२३ वर्षीय चालक हरिन्द्र साह तेलीको उपचारका क्रममा मृत्यु

फाल्गुन २६, २०८२

शंकर आचार्य

Car carrying a baby crashes, driver dies

पर्सा — पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित गण्डक नहर नजिक सोमबार राति जन्ती जाँदै गरेको भारतीय नम्बरको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँतर्फ जन्ती जाँदै गरेको बीआर ०५ बीएल ०६४५ नम्बरको भारतीय कार राति करिब सवा ९ बजे अनियन्त्रित भई गण्डक नहर छेउको पीपलको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बहुदरमाई नगरपालिका–९ का २३ वर्षीय चालक हरिन्द्र साह तेलीको उपचारका क्रममा बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा राति करिब सवा १० बजे मृत्यु भएको हो ।

सोही कारमा सवार वीरगन्ज महानगरपालिका–१७ अलौका २२ वर्षीय चन्दन सहनी गम्भीर घाइते भएका छन्। उनको टाउको, अनुहार तथा शरीरको भित्री भागमा चोट लागेको र हाल सोही अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully