पर्साबाट २१३ किलो गाँजा बरामद

प्रहरी टोली जगरनाथपुर गाउँपालिका-४ पुग्दा तस्करहरू गाँजासहितको ट्याक्टर छाडेर फरार भएका थिए।

फाल्गुन २६, २०८२

शंकर आचार्य

213 kg of marijuana seized from Parsa

पर्सा — पर्साको जगरनाथपुर गाउँपालिका-४ बाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार राति साढे ११ बजेको समयमा २ सय १३ किलो गाजा सहित मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।

पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले घटनाको पुष्टि गरेका छन् । स्रोतका अनुसार, पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षाबाट गाँजा लोड गरी भारततर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सोनवर्षाबाटै उक्त ट्याक्टरलाई पछ्याउँदै गएको प्रहरी टोली जगरनाथपुर गाउँपालिका-४ पुग्दा तस्करहरू गाँजासहितको ट्याक्टर छाडेर फरार भएका थिए।

बरामद गाँजासहितको ट्याक्टर इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ। प्रहरीले फरार रहेका ट्याक्टरका चालक, धनी तथा तस्करहरूको खोजी कार्य गरी रहेको छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully