टेकबहादुर शाक्य : पर्सा–४ बाट उदाएको नयाँ अनुहार

विगतमा उनी तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय सदस्य रहिसकेका थिए । केही वर्षयता उक्त पार्टीमा निष्क्रिय जस्तै रहेका उनी प्रतिनिधिसभा निर्वाचनको केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Tek Bahadur Shakya: A new face emerging from Parsa-4

पर्सा — पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्य भारी मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ५० वर्षीय शाक्यको यो पहिलो संसदीय यात्रा हो । ठोरी गाउँपालिका–४, विजय बस्ती स्थायी घर भएका शाक्य रामबहादुर शाक्यका छोरा हुन् । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनी राजनीति शास्त्रका विद्यार्थीसमेत हुन् । 

शाक्यको राजनीतिक यात्रा भने नयाँ होइन । विगतमा उनी तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय सदस्य रहिसकेका थिए । केही वर्षयता उक्त पार्टीमा निष्क्रिय जस्तै रहेका उनी प्रतिनिधिसभा निर्वाचनको केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । त्यसपछि रास्वपाबाट पर्सा–४ को उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका शाक्यले पहिलो प्रयासमै विजय हासिल गरेका हुन् । 

अन्तिम मत परिणामअनुसार शाक्यले २८ हजार ६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पुराना नेता रमेश रिजालले १२ हजार ५ सय ३४ मत पाए । शाक्यले रिजाललाई १५ हजार ४ सय ७२ मतान्तरले पराजित गरेका हुन् । 

शाक्य आफ्नो विजयलाई क्षेत्रका जनताले खोजेको परिवर्तनको संकेतका रूपमा लिन्छन्  । ‘लामो समयदेखि भ्रष्टाचार, कुशासन र भेदभावको पीडा भोगिरहेका यहाँका बासिन्दाले परिवर्तन चाहेका छन्,’ उनले भने, ‘पुराना दलका नेताहरूले वर्षौं राजनीति गरे, तर जनताको जीवनस्तर उकासिन सकेन । बरु नेताहरूको जीवनस्तर मात्रै उकासियो ।’ 

उनका अनुसार उत्पीडन, विभेद र कुशासनका कारण शिक्षा, स्वास्थ्य र पूर्वाधारजस्ता आधारभूत सेवाबाट समेत वञ्चित रहेका जनताले यसपटक आफ्नो आक्रोश मतमार्फत व्यक्त गरेका हुन् । शाक्यले आफू लामो समयदेखि क्षेत्रका जनताको सुख–दुःखमा सहयात्री बनेर काम गर्दै आएको उल्लेख गर्दै यसपटक जनताले आफूलाई अवसर दिएको बताए । 

उनका बालसखा बसन्त श्रेष्ठका अनुसार शाक्य लामो समयदेखि स्थानीय विकासका काममा सक्रिय रहँदै आएका छन् । ‘शाक्यले यहाँका जनताको समस्या नजिकबाट बुझन् भएको छ,’ श्रेष्ठ भन्छन्, ‘विकास निर्माणका केही परियोजना ल्याउन पनि पहल गर्नुभएको छ । सबै उमेर समूहसँग घुलमिल हुन सक्ने उहाँको स्वभावका कारण उहाँ यहाँका धेरैको प्रिय व्यक्ति हुनुहुन्छ ।’

पर्सा–४ बाट निर्वाचित शाक्य अब संसद्‌मा क्षेत्रका विकास र जनताको अपेक्षालाई सम्बोधन गर्ने जिम्मेवारीसँगै नयाँ राजनीतिक यात्रामा प्रवेश गरेका छन् ।

कान्तिपुर

Link copied successfully