बारामा उम्मेदवारी दिएका ११० मध्ये ९९ जनाको जमानत जफत

तत्कालीन ठूला र मधेसी दललगायतका उम्मेदवारको समेत जमानत जफत भएको छ ।

फाल्गुन २४, २०८२

लक्ष्मी साह

Bail of 99 out of 110 candidates who filed nominations in Bara confiscated

बारा — प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा बारामा प्रतिस्पर्धामा रहेका ११० उम्मेदवारमध्ये ९९ जनाको जमानत जफत भएको छ । कुल सदर मतमध्ये १० प्रतिशत पनि ल्याउन नसकेपछि उम्मेदवारको जमानत जफत भएको हो । यसमा तत्कालीन ठूला र मधेसी दललगायतका उम्मेदवारको समेत जमानत जफत भएको छ । 

जमानत जफत हुनेमा एमाले, कांग्रेस, नेकपा, जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, श्रम संस्कृति, उज्यालो नेपाल पार्टी, परिवर्तन नेपाललगायतका पार्टीका उम्मेदवार समेत छन् । अधिकांस मत रास्वपाका उम्मेदवारतर्फ गएपछि अन्य दलको आकार खुम्चिएको हो । 

जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार बारा-१ मा २० उम्मेदवारमध्ये १७ जनाको जमानत जफतको अवस्था छ । बारा-२ मा २९ उम्मेदवारमध्ये २६ उम्मेदवारको जमानत जोगाउन सकेनन् भने बारा- ३ का २४ उम्मेदवारमध्ये २२ जनाको जमानत जफत भएको छ । बारा-४ मा प्रतिस्पर्धामा रहेका ३७ उम्मेदवारमध्ये ३४ जनाले जमानत जोगाउन सकेनन् ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully