सप्तरीका चारवटै क्षेत्रमा रास्वपाको अग्रता

प्राप्त पछिल्ला मत परिणामअनुसार क्षेत्र नं १ मा रास्वपाकी पुष्पाकुमारी चौधरीले २ हजार ७ सय ७ मत पाएकी छन् । उनलाई कांग्रेसका रामदेव साहले ४ सय २६ मतका साथ पछ्याइरहेका छन् ।

फाल्गुन २२, २०८२

विद्यानन्द राम

RSP leads in all four constituencies of Saptari

राजविराज —  

सप्तरीका चारवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । यहाँ दिउँसो १२ बजेपछि मतगणना सुरु भएको हो ।

प्राप्त पछिल्ला मत परिणामअनुसार क्षेत्र नं १ मा रास्वपाकी पुष्पाकुमारी चौधरीले २ हजार ७ सय ७ मत पाएकी छन् । उनलाई कांग्रेसका रामदेव साहले ४ सय २६ मतका साथ पछ्याइरहेका छन् । तेस्रो नम्बरमा जनमत पार्टीका जयकान्त राउतले २ सय २६ मत पाएका छन् ।

क्षेत्र नं २ मा पनि रास्वपाका रामजी यादले १ हजार ६९८ मतका साथ अग्रता लिएका छन् । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले उनलाई ९ सय २२ मतका साथ पछ्याइरहेका छन् । यहाँ जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले ७ सय ७४ मतका साथ तेस्रो स्थानमा छन् ।

क्षेत्र नं ३ मा पनि रास्वपाका अमरकान्त चौधरीले १ हजार २ सय ४ मत पाएर अग्रता लिँदा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनलाई पछ्याइरहेका छन् । यादवले अहिलेसम्म ९ सय ७८ मत पाउँदा नेपाली कांग्रेसका दिनेशकुमार यादवले २ सय ९३ मत पाएर तेस्रो स्थानमा छन् ।

क्षेत्र नं ४ मा रास्वपाकै सीताराम साहले ५ हजार ३ सय १२ मत ल्याएर अग्रता लिएका छन् । २ हजार २ सय ८१ मत ल्याएर नेपाली कांग्रेसका तेजुलाल चौधरीले पछ्याइरहेका छन् भने जसपा नेपालकी बँबी यादवले १ हजार १ सय ९६ मत ल्याएर तेस्रो स्थानमा छन् । चारवटा निर्वाचन क्षेत्र रहेको यहाँ कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता छन् भने २ लाख ९३ हजार ३ सय ७७ जनाले मतदान गरेका छन् ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully