उम्मेदवार साहले धाँधली भएका मतदान केन्द्रमा खटिएका आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउने बताएका छन् ।
रौतहट — रौतहट-२ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण साहले मतदानमा धाँधली भएको भन्दै राजपुर र इशनाथ नगरपालिकाको ८ वटा वडामा पुन: मतदान हुनुपर्ने माग राखेका छन् ।
उम्मेदवार साहले धाँधली भएका मतदान केन्द्रमा खटिएका आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउने बताए । 'अर्काको नाममा मत खसाउने काम भएको छ,' साहले भने, 'प्रहरी मूकदर्शक भएर बसेको छ । म अब निर्वाचन कार्यालयमा धर्ना दिन्छु ।'
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले केही स्थानमा सामान्य विवाद भए पनि कतै धाँधली नभएको र अहिले शान्तिपूर्ण तरिकाले मतदान भएको बताए ।
बिहान ७ बजेदेखि मतदान सुरु भएकामा २:४५ बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिए ।
चार निर्वाचन क्षेत्र रहेको रौतहटमा ४ लाख ३६ हजार ६११ मतदाता छन् । यो जिल्लामा १५२ अति संवेदनशील मतदान केन्द्र छन् । विभिन्न पार्टीका १४३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
