पर्सामा ६७ प्रतिशत मत खसेको अनुमान

जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा गरी २ लाख ५२ हजार मत खसेको प्रारम्भिक अनुमान छ ।

फाल्गुन २१, २०८२

शंकर आचार्य

Estimated voter turnout in Parsa is 67 percent.

पर्सा — पर्सामा करिब ६७ प्रतिशत मतदान भएको छ । पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले चार वटै निर्वाचन क्षेत्रबाट गरी औसतमा करिब ६७ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी आएको बताए ।


जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा गरी २ लाख ५२ हजार मत खसेको प्रारम्भिक अनुमान छ । कुनैपनि क्षेत्रमा १ लाख बढी मतदान नभएको उनले बताए ।


जिल्लामा कुल मतदातासंख्या ३ लाख ७६ हजार ५ सय १३  रहेको छ । राति १० बजेसम्म अन्तिम तथ्यांकआउने अनुमान रेग्मीले गरेका छन् ।  जिल्लाभरी शान्तिपूर्ण ढंगले निर्वाचनजारी सम्पन्न भएको पनि उनले बताए ।


मतदान केन्द्रहरुबाट मतपेटिका संकलनको काम हाल जारी रहेको उनले बताए । पर्सा क्षेत्र नं १ र २ को मतगणना वीरगन्जस्थित ठाकुरराम क्याम्पसमा र ३ र ४ को मतगणना पोखरिया नगरपालिकास्थित उच्चांगल माबिमा गरिने रेग्मीले जानकारी दिए । सकेसम्म  बिहीबार रातिबाटै मतगणना सुरु गर्ने प्रयास भइरहेको पनि उनले बताए ।


जिल्लामाकूल मतदाता मध्ये १ लाख ६४ हजार ४ सय २१ महिला, २ लाख १२ हजार ७७ पुरुष तथा १५ अन्य मतदाता थिए । क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्रनं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल थिए । जिल्लामा ४ सय ४१ मतदान केन्द्र थिए । दुई अस्थायी मतदान केन्द्र थिए ।


पर्साका चारवटै निर्वाचन क्षेत्रमा १ सय  ७ जना उम्मेदवार रहेका थिए । जसमध्ये ४६ उम्मेदवार स्वतन्त्र हुन् । स्वतन्त्र उम्मेदवारमध्ये सात महिला र ३९ पुरुषरहेका छन् । राजनीतिक दलका तर्फबाट ६१ जना उम्मेदवार छन् । तीमध्ये पाँच महिला उम्मेदवार र ५६ पुरुष उम्मेदवार छन् । १ सय ६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको थियो । ८५ वटा संवेदनशील र २० वटाकम संवेदनशीलको सूचीमा थिए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully