सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ का पूर्वमन्त्री साहले राइफल घरमै रहेको स्वीकार गरे । ‘त्यो राइफल मेरो जिम्मामा छ । मेरो छोरा सुमितको नाउँमा रहेको राइफल घरमा राखेको छ,’ उनले भने, ‘राइफल बुझाउन प्रशासनले सूचना गरेको विषयमा मलाई जानकारी छैन ।’
राजविराज — पूर्ववन तथा वातावरण मन्त्री नवलकिशोर साह (सुडी)ले निर्वाचनको बेला पनि इजाजतप्राप्त राइफल घरमै राखेको पाइएको छ ।
गत माघ ६ मा जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि इजाजत प्राप्त हतियार बुझाउन सूचना जारी गरेको थियो । तर, पूर्वमन्त्री साहले अझसम्म राइफल बुझाएका छैनन् ।
उनी जनता समाजवादी पार्टी नेपालबाट मन्त्री रहँदा २४ वैशाख २०८१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाउँदा आफूसँग १२ बोरको राइफल रहेको उल्लेख गरेका थिए । तर, जिल्ला प्रशासनले निर्वाचन सकिएको एक महिनापश्चात फिर्ता हुने गरी गत माघ २० सम्म हतियार बुझाउन सूचना जारी गर्दा पनि अहिलेसम्म राइफल उनको घरमै छ ।
‘निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका जिल्लाभित्र रहेका इजाजत-पत्र प्राप्त हातहतियारहरु निर्वाचन सकिएको एक महिनापश्चात फिर्ता पाउने गरी २०८२ माघ २० गतेभित्र नजिकको प्रहरी इकाईमार्फत वा जिल्ला प्रहरी कार्यालयमा बुझाउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ,’ प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–९ का पूर्वमन्त्री साहले राइफल घरमै रहेको स्वीकार गरे । ‘त्यो राइफल मेरो जिम्मामा छ । मेरो छोरा सुमितको नाउँमा रहेको राइफल घरमा राखेको छ,’ उनले भने, ‘राइफल बुझाउन प्रशासनले सूचना गरेको विषयमा मलाई जानकारी छैन ।’
२०७९ मा सप्तरी–१ मा जसपा नेपालबाट जितेका साह यसपटक चुनाव लडेका छैनन् । यसपटक उनका छोरा सुमितकुमार स्वाभिमान पार्टीबाट उम्मेदवार छन् । सो राइफल पनि सुमितकै नाममा रहेको पूर्वमन्त्री साह नै बताउँछन् । तर, उम्मेदवारको घरमा राइफल रहेको विषयमा प्रशासनलाई जानकारी छैन ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले धैरै पहिला नै प्रहरीबाट आएको रेकर्डमा त्यो राइफल नरहेको बताए । ‘थप हातहतियार बुझाएको रकर्ड प्रहरीसँग लिन बाँकी छ,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले हातहतियार बुझाएको रेकर्ड जिल्ला प्रशासनमा बुझाइसकेको बताए । ‘पूर्वमन्त्री साहले राइफल बुझाउनुभयो वा बुझाउनुभएन भन्ने विषयमा बुझ्नुपर्छ । अहिले बाहिर छु,’ उनले भने, ‘हामीले प्रशासनमा पनि रेकर्ड बुझाइसकेका छौँ । त्यहीबाट लिँदा पनि हुन्छ ।’
