जनकपुरमा होली आज मनाइँदै

अन्तरगृह परिक्रमा मंगलबार सम्पन्न भएका कारण आज होली मनाउन लागिएको हो।

फाल्गुन २०, २०८२

अजित तिवारी

Holi being celebrated in Janakpur today

जनकपुर — जनकपुरमा आज बुधबार होली उत्सव मनाइँदै छ । 

अन्तरगृह परिक्रमा मंगलबार सम्पन्न भएका कारण आज होली मनाउन लागिएको हो।

१५ दिने धार्मिक मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको भोली पल्ट मात्र जनकपुरमा होली मनाउने परम्परा छ । होली उत्सवमा जनकपुरमा बिहानैदेखि रंग र अविर लगाएर खुसी साटासाट गर्ने क्रम सुरु भएको छ ।

बिहीबार प्रतिनीधि सभाको निर्वाचनका कारण स्थानीय प्रशासनले होली पर्व शान्तिपूर्ण, भाइचारा कायम गर्दै मनाउन अपिल गरेको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले होली पर्व सकभर घर–परिवारमा नै मनाउन आग्रह गरिएको बताए । 

‘चुनावको सबै तयारी पूरा भएको छ । होली पर्व शान्तिपूर्ण मनाएर चुनावको महाउत्सवमा सघाउन सबैलाई आग्रह छ,’ उनले भने, ‘जनकपुरमा होली पर्वलाई शान्तिपूर्ण र मर्यादित बनाउन सुरक्षाकर्मी पनि खटाइएको छ।’

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully