मधेशमा यस वर्ष ३ दिन होली

पर्सा, बारा र रौतहटको होलीले पर्व मात्र नभई भोजपुरी संस्कृतिको पनि प्रतिनिधित्व गर्छ । यहाँ परिवारका सदस्य मात्र नभई आफन्त र इष्टमित्रलाई घरमा बोलाएर मासुका परिकार, मालपुवा, पकौडा आदि खुवाउने चलन छ ।

फाल्गुन १९, २०८२

शंकर आचार्य

Holi to be celebrated for 3 days in Madhesh this year

What you should know

पर्सा — मधेशमा यस वर्ष पनि ३ दिन होली खेलिने भएको छ । पछिल्ला केही वर्षयता यस्तै संयोग पर्दै आएको छ । सोमबार यहाँ पहाडी समुदायले होली खेले । मंगलबार तराई मधेशमा अधिकांशले शाकाहारी भोजन गर्ने भएकाले यहाँ यो पर्व मंगलबार नभई भोलि बुधबार मान्ने तयारी गरेका छन् ।

संघीय सरकारले तराई मधेशमा मंगलबार नै होलीको बिदा दिएको छ । यस वर्ष भने बुधबार पनि संघीय सरकारले निर्वाचनका लागि बिदा दिएकाले अधिकांशले बुधबार होली मनाउने मनस्थिति बनाएका छन् । साताअघिदेखि नै यहाँ होली मिलन समारोह तथा शुभकामना आदान प्रदान जस्ता कार्यक्रम निरन्तर चलिरहेका छन् ।  

वीरगन्जको आदर्शनगर क्षेत्रका मारवाडी समुदायले सोमबार राति सम्वत वा होलिका दहनपछि मंगलबार बिहानैदेखि होली खेलेका छन् । आदर्शनगर निवासी जयप्रकाश लोहिया होली पर्वलाई धार्मिक भन्दा पनि सांस्कृतिक हिसाबले मान्ने चलन भएकाले अधिकांश तराईबासीले तराईमा प्रायः दुई दिन होली खेल्ने चलन रहेको बताउँछन् । तर यस वर्ष भने बुधबारसमेत गरी तीन दिन धेरैले होली खेल्ने मनस्थिति बनाएको उनले बताए ।

लोहियाका अनुसार होली पर्वको धार्मिक र सांस्कृतिक गरी दुई पक्ष हुने गरेको छ । धार्मिक पक्षमा प्रख्यात पुराना व्यक्तिहरूको गाथा गाउने भएकाले प्रज्ञा र ज्ञानसँग यो पर्व जोडिएको हुन्छ । यसका साथै होलीमा रमाइलो गर्ने, आफन्तजन इष्टमित्रसँग भेटघाट गर्ने, सामूहिक खानपिन गर्ने चलन छ, यो पर्वमा अन्य पर्वहरू जस्तो ब्रत लिने, शुद्ध चोखो खाने जस्ता धार्मिक नियम नरहेकाले यो पर्वमा खाने पिउने र रमाउने, आफन्तसँग भेटघाट गर्ने जस्ता अवसर मिल्ने भएकाले यो सबैको प्रिय भएको हो ।  

पर्सा, बारा र रौतहटको होलीले पर्व मात्र नभई भोजपुरी संस्कृतिको पनि प्रतिनिधित्व गर्छ ।  यहाँ परिवारका सदस्य मात्र नभई आफन्त र इष्टमित्रलाई घरमा बोलाएर मासुका परिकार, मालपुवा, पकौडा आदि खुवाउने चलन छ ।

भारतसँगको भौगोलिक सामीप्य तथा सहज आवागमनको सुविधाका कारण भारत र नेपालको तराई मधेशको होलीबीच धेरै समानता पनि छ । भारतको होली गीतहरूमा प्रसिद्ध धार्मिक स्थल तथा तीर्थस्थलहरूको साथै कृष्ण, ब्रज, द्वारका आदिको प्रसंग बढी उल्लेख हुन्छ भने नेपालको होली गीतमा जनकपुर, रामजानकी, जनक आदिको प्रसंग बढी हुन्छ ।  

होली पर्वमा वर्षभरि भेटघाट नभएकाहरू एकअर्काको घरमा भेटघाट गर्न जाने र रंग तथा शुभकामना आदान प्रदान गर्ने चलन छ । यो पर्वले साथीभाइ इष्टमित्रलाई वर्ष दिनमा एक पटक भेटघाट गर्ने अवसर पनि जुराउँछ । आपसमा मनोमालिन्य र रिसराग भएकाहरू पनि त्यसलाई बिर्सेर आजकै दिनबाट सम्बन्धको नयाँ सुरुवात गर्छन् ।  

तराईमा गर्मी भएकाले यहाँ पहिलेदेखि नै पानी र रंगसँग होली खेल्न सहज महसुस गरिन्छ । रंग र अबिरको होली खेलेपछि आफन्तजन एवम् इष्टमित्रलाई काजु, किसमिस, नरिवल, छोकडा, सुपारी आदिको मसला खान दिने चलन छ । होली पर्वकै लागि नयाँ सेतो वस्त्र लगाएर होली खेल्ने तराईको पुरानो परम्परा हो । मान्यजन तथा ठूला बडासँग रंग लगाएपछि कनिष्ठले खुट्टामै ढोगेर आशीर्वाद लिने परम्परा छ ।

होलीमा माछामासुको परिकार बढी खाइन्छ । खाने पिउने मात्र नभई नेता तथा समाजका लब्धप्रतिष्ठित व्यक्तिहरूलाई पनि सार्वजनिक रूपमा व्यय गर्ने छुट यो पर्वमा छ । यसरी होली पर्वमा व्यय गर्दा कसैले पनि चित्त दुखाउँदैनन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully