रौतहटमा सेनाको हवाई गस्ती

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले जिल्लाका विभिन्न भागमा पैदल, मोटरसाइकल गस्ती गर्दै आएको थियो ।

फाल्गुन १९, २०८२

शिव पुरी

Army air patrol in Rautahat

रौतहट — नेपाली सेनाले आसन्न निर्वाचनलाई मध्यनजर राख्दै रौतहटको सबै निर्वाचन क्षेत्रहरुमा मंगलबार हवाई गस्ती गरेको छ । 

जिल्लामा शान्ति सुरक्षा कायम राख्न सेनाले हवाई गस्ती थालेको हो । यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले जिल्लाका विभिन्न भागमा पैदल, मोटरसाइकल गस्ती गर्दै आएको थियो । 

सेनाले हेलिकोप्टरमार्फत जिल्लाको चारवटै निर्वाचनमा हवाई गस्ती गरेको श्रीनारायणदत गण गौरले जानकारी दिएको छ । सेनाले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन जमिनमा बख्तरबन्द गाडी र माथि हवाई गस्ती थालेको जनाएको छ । सेनाको हेलिकोप्टर सबै निर्वाचन क्षेत्र घुमेर गरुडामा अवतरण गरेको थियो । केही समय त्यहाँ अनुगमन गरी उडेको थियो । गणका अनुसार मधेश प्रदेशका जिल्लाहरुमा निर्वाचनलाई मध्यनजर राख्दै जतिखेर पनि हेलिकोप्टरले हवाई निगरानी गर्ने छ ।  

रौतहटका १ सय ५२ र सर्लाहीका १ सय ५८ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा राखेको छ । विगतका निर्वाचनमा भएका बुथ कब्जा, झडप र राजनीतिक विवादका घटना, नेपाल–भारतबीचको खुला सिमाना, जेन–जी आन्दोलनपछि सुरक्षा चुनौतीको दृष्टिकोणले मतदानस्थललाई सुरक्षा निकायले सामान्य, संवेदनशील र अति संवेदनशीलको सूचीमा वर्गीकरण गरिएको हो । यी क्षेत्रहरुलाई सुरक्षा अधिकारीले कडा निगरानी गरेको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully