१ सय ७ उम्मेदवारमध्ये ४५ जनाले मात्र बैंक खाता खोल्न कार्यालयबाट सिफारिस लगेका छन् ।
What you should know
पर्सा — आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा १ सय ७ उम्मेदवार रहेकामा तीमध्ये आधाले बैंक खाता खोल्ने अग्रसरता देखाएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालय पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तर्क्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियारले उक्त जानकारी दिइन् । उनले १ सय ७ उम्मेदवारमध्ये ४५ जनाले मात्र बैंक खाता खोल्न कार्यालयबाट सिफारिस लगेको बताइन् ।
रौनियारले पर्सामा अस्थायी मतदाताको संख्या १ हजार ९० रहेको बताइन् । जिल्लामा सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दी, सुरक्षा निकाय लगायत १ हजार ९० जना अस्थायी मतदाताले प्रतिनधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने छन् । निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीले आफू खटिएको ठाउँमा नै मतदान गर्न पाउने व्यवस्था गरिएको उनले बताइन् । अन्य मतदाताको हकमा भने वीरगञ्ज कारागार र जिल्ला हुलाक कार्यालय पर्साको प्राङ्गणमा मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पर्सामा भयरहित ढंगले निर्वाचनका लागि आवश्यक वातावरण तयार पारेको जानकारी दिए । पर्साका चारवटै निर्वाचन क्षेत्रमा १ सय ७ जना उम्मेदवार रहेका छन् । जसमध्ये ४६ उम्मेदवार स्वतन्त्र हुन् । स्वतन्त्र उम्मेदवारमध्ये सात महिला र ३९ पुरुष रहेका छन् ।
राजनीतिक दलका तर्फबाट ६१ जना उम्मेदवार छन् । तीमध्ये पाँच महिला उम्मेदवार र ५६ पुरुष उम्मेदवार छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सामा तोकिएको १ सय ६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । ८५ वटा संवेदनशील र २० वटा कम संवेदनशीलको सूचीमा छन् ।
क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल छन् । जिल्लामा ४ सय ४१ मतदान केन्द्र छन् । दुई अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्लामा कुल मतदाता संख्या ३ लाख ७६ हजार ५ सय १३ छ । तीमध्ये १ लाख ६४ हजार ४ सय २१ महिला, २ लाख १२ हजार ७७ पुरुष तथा १५ अन्य मतदाता छन् ।
