ठूला आयोजना र पुरातात्त्विक स्थलहरूमा परेन बाराका उम्मेदवारहरूको नजर

समग्र जिल्लाको आर्थिक उन्नति हुन सक्ने ठूला आयोजना र क्षेत्रबारे बाराका सबै उम्मेदवार बेखबर ।

फाल्गुन १८, २०८२

लक्ष्मी साह

Bara candidates' focus is not on big projects and archaeological sites

What you should know

बारा — जिल्लामा विकासको सम्भावना भएका आयोजना धेरै छन् । सुगम भूगोल र चुरेदेखि नेपाल–भारत दसगजासम्म फैलिएको यस जिल्लामा वीरगन्ज–सिमरा क्षेत्रका उद्योग हब, पर्सा राष्ट्रिय निकुञ्ज, सिम्रौनगढ ऐतिहासिक र पुरातात्त्विक स्थल, एसियामै प्रसिद्ध गढीमाई धार्मिक स्थललगायत अन्य पर्यटकीय र दसगजामा रहेका छोटी भन्सारलाई स्तरोन्नति गरी सञ्चालनमा ल्याउन सक्ने धेरै विकासका सम्भावना बोकेका स्थल छन् । यी विषय यसपटकको चुनावी मुद्दा बन्नै सकेनन् । 

जिल्लामा रहेका १ सय १० उम्मेदवारमध्ये कसैले पनि यी मुद्दामा कुनै चासो दिएको पाइएन । ‘उम्मेदवारको ध्यान मत मात्र तान्न गाउँका सानासाना कुरामा सीमित रह्यो, ठूला विकासे आयोजनामा ध्यान नै दिएनन्,’ बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले भने, ‘सानासाना कृषि, सडक, पुल बनाउन मात्र वाचा दिए । विषय उठाए । समग्र जिल्लाको आर्थिक उन्नति हुन सक्ने यी ठूला आयोजना र क्षेत्रको विषय नै उठाएनन् ।’ 

पर्यटकीय स्थल, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सिमराको विशेष आर्थिक क्षेत्र (सेज) निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छ । साढे ८ सय बिघामा फैलिएको सेज २०६४ देखि सुरु भई अहिलेसम्म ६ वटा मात्र उद्योगले उत्पादन र निर्यात गर्दैछन् । 

निर्यात बढाउने उद्देश्यले सेज निर्माणमा ल्याइएको हो । ‘सेज विकासका लागि कतैबाट आवाज सुनिएन,’ सेजका सहायक इन्जिनियर अजय चौधरीले भने । यसैगरी यसै क्षेत्रमा पर्ने औद्योगिक हबलाई औद्योगीकरण गरी उत्पादित सामानको आयात बढाउनुपर्ने, मजदुर–मालिकबीचको द्वन्द्वले हरदम गरिने बन्द हड्तालको प्रवृत्ति रोक्न नीति ल्याउने, भारतीय भन्दा नेपालीलाई उक्त उद्योगमा रोजगारी सिर्जना गर्ने समस्या भए पनि यस विषयमा निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवारले कतै चुँसम्म बोलेनन् । यस क्षेत्रमा ३५ जना उम्मेदवार छन् । 

क्षेत्र नम्बर ३ र १ मा पर्ने प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थल निर्माणमा अनेकौं नीतिगत समस्या छन् । तर यी विषयमा समेत यस क्षेत्रका ४४ उम्मेदवार कसैले मुद्दाका रूपमा उठाएनन् । निजगढ उद्गम बिन्दु भएको तराई–काठमाडौं द्रुत (फास्ट ट्रयाक) छिट्टो निर्माणका लागि दबाब दिने, पर्सा राष्ट्रिय निकुञ्जका जंगली र राष्ट्रिय जनवार र मानव बस्ती तथा मानवबीचको क्षति रोक्ने नीति बनाउने जस्ता कार्य गर्नुपर्नेतर्फको उम्मेदवारको ध्यान गएको देखिएन । 

देशकै जेठो सिमरा विमानस्थलको स्तरवृद्धि गर्नुपर्ने स्थिति छ । तर यसबारे चुनावी मुद्दा बनेन । यस्तै ४ वटै निर्वाचन क्षेत्रमा छोटी भन्सार छन् । तर सञ्चालनमा छैनन् । सञ्चालन नभएकाले व्यापारीहरूलाई मार परेको छ । वीरगन्ज भन्सार कुद्नुपर्ने बाध्य छ । यसको सञ्चालनका लागि सर्वसाधारण र व्यापारीबाट जति आवाज उठ्दा पनि चुनावी मुद्दा बन्न सकेन । ग्यासुदिन तुगलकले आक्रमण गरेको ऐतिहासिक र पुरातात्विक सिम्रौनगढ निर्वाचन क्षेत्र १ मा पर्छ । यहाँका भग्नावशेष, कलात्मक मूर्तिहरू संरक्षणको अभावमा जीर्ण र नासिादै छन् । 

स्थानीय पत्रकार रामेश्वर मेहताले सिम्रौनगढ सम्भावना बोकेको खुला संग्रहालय भएको बताए । यसलाई उचित महत्त्व नदिइएको उनको गुनासो छ । यहाँ सयौं पोखरी आकर्षण र सौन्दर्यको केन्द्र बनेका छन् । यसैगरी क्षेत्र नम्बर २ मा पर्ने प्रसिद्ध धार्मिक स्थल गढीमाईको बृहत्तर विकासका बारेमा सधैं चर्चा हुने गरे पनि उम्मेदवारले यसबारे चर्चा गरेको नसुनिएको र यो एजेन्डा नै नबनेको स्थानीय समाजसेवी विजय स्वर्णकारले बताए । यस निर्वाचन क्षेत्रमा २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । सिम्रौनगढ र गढीमाईको गुरुयोजना बनाउने कार्यसमेत भएको छैन ।

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully