निर्वाचन सुरक्षामा सेनाको गस्ती बढ्यो

मोटरसाइकल गस्तीमार्फत मुख्य बजार क्षेत्र, भीडभाड हुने स्थान, संवेदनशील क्षेत्र तथा मतदान स्थल आसपास निरन्तर निगरानी बढाइएको हो ।

फाल्गुन १७, २०८२

शंकर आचार्य

Army patrols increased for election security

पर्सा — आसन्न निर्वाचनलाई मध्यनजर गर्दै पर्सामा शान्ति सुरक्षा सुदृढ बनाउन वीरगन्जस्थित नेपाली सेनाको श्रीजंग गणले नियमित तथा विशेष गस्ती कार्यलाई तीव्र बनाएको छ ।

गण स्रोतले जिल्लाका सबै क्षेत्रमा छिटो पहुँच स्थापित गरी तत्काल प्रतिक्रिया दिन सक्ने उद्देश्यले मोटरसाइकल, सवारी तथा पैदल गस्तीलाई प्रभावकारी रूपमा परिचालन गरिएको बतायो ।  

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा रणनीतिअनुसार गस्तीलाई थप विस्तार गरिएको हो । जिल्लाभरि २४ सै घण्टा निगरानी राखिएको छ र कुनै पनि आपतकालीन अवस्थालाई तत्काल नियन्त्रणमा लिन सक्ने गरी सुरक्षा संयन्त्र परिचालन गरिएको गणले जानकारी गराएको छ ।  

मोटरसाइकल गस्तीमार्फत मुख्य बजार क्षेत्र, भीडभाड हुने स्थान, संवेदनशील क्षेत्र तथा मतदान स्थल आसपास निरन्तर निगरानी बढाइएको हो । यसले सर्वसाधारणमा सुरक्षाको अनुभूति बढाउनुका साथै सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेको सेनाको विश्वास छ ।

आइतबार दिउँसो करिब डेढ बजेदेखि वीरगन्ज महानगरका घण्टाघर, आदर्शनगर, छपकैया, बाइपास, मुर्ली, पावरहाउस, ड्राइपोर्ट र रानीघाट क्षेत्रमा मोटरसाइकल तथा बख्तरबन्द गाडीबाट समेत गस्ती सञ्चालन गरिएको गणले जनाएको छ । यसका साथै जिल्लाका अन्य स्थानमा रहेका गणअन्तर्गतका सीओबी तथा पीओबीमार्फत पनि नियमित गस्ती जारी रहेको छ ।  

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully