रौतहटमा सेनाको बख्तरबन्द गाडीको गस्ती

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर पैदल, सवारी, मोटरसाइकल तथा बख्तरबन्दसहित सुरक्षा गस्ती सञ्चालन गरिएको सेनाले जानकारी दिएको छ ।

फाल्गुन १७, २०८२

शिव पुरी

Army armored vehicle patrols in Rautahat

रौतहट — आसन्न निर्वाचनलाई मध्यनजर गर्दै रौतहटमा शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले शनिबार साँझबाट बख्तरबन्द गाडीमार्फत गस्ती गर्न सुरु गरेको छ ।

यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले जिल्लाका विभिन्न भागमा गस्ती गर्दै आएको थियो । यसलाई थप मद्दतका लागि सेनाले बख्तरबन्द गाडीसहित चारवटै निर्वाचन क्षेत्रमा गस्ती सुरु गरेको हो ।

स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले रौतहटमा तैनाथ नेपाली सेनाको श्री नारायण दल गणले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन बख्तरबन्द गाडीसहित गस्ती निकालेको जनाएको छ । 

सेनाले जिल्लाभित्र सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । अत्याधुनिक सैनिक सवारी साधनहरू प्रयोग गरी मतदान स्थलहरूमा एकैसाथ सुरक्षा गस्ती तथा निगरानी तीव्र बनाएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर पैदल, सवारी, मोटरसाइकल तथा बख्तरबन्दसहित सुरक्षा गस्ती सञ्चालन गरिएको सेनाले जानकारी दिएको छ ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully