'कांग्रेस, एमाले, रास्वपा र माओवादी सबैले गल्ती गरेर आएका छन्,' कांग्रेस सभापति गगन थापाले भने, 'अहिले कसैले फुर्ती नलगाए हुन्छ । अब फेरि त्यस्ता गल्ती दोहोरिन दिनु हुन्न । म त्यस कुरामा सचेत छु ।'
रौतहट — कांग्रेस सभापति गगन थापाले एमालेसित मिलेर सरकार बनाउनु नै गल्ती भएको बताएका छन् ।
नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ द्वारा बृन्दावन नगरपालिकाको हर्दियामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै सभापति थापाले सो कुरा बताएका हुन् ।
३२ सिटे माओवादीलाई प्रधानमन्त्री चाहिएको, २२ सिटे रास्वपालाई गृहमन्त्री चाहिएको भन्दै त्यसबेला कांग्रेसले एमालेसँग मिलेर धेरै त्रुटि गरेको उनले बताए ।
'कांग्रेस, एमाले, रास्वपा र माओवादी सबैले गल्ती गरेर आएका छन्,' उनले भने, 'अहिले कसैले फुर्ती नलगाए हुन्छ । अब फेरि त्यस्ता गल्ती दोहोरिन दिनु हुन्न । म त्यस कुरामा सचेत छु ।'
विगतमा जे भयो, अब आफू त्यतातिर जान नचाहेको पनि उनले बताए । 'अबको पाँच वर्ष काम गरेर देखाउने हो,' उनले भने, 'सबैले जेनजी आन्दोलनको भावना भने बुझ्नुपर्नेछ ।'
सभापति थापाले मधेशमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र दलित बस्तीको अवस्था दयनीय भएकाले आफ्नो सरकार बनेपछि यी सब कुरा प्राथमिकतामा पार्ने पनि बताए ।
