फागुन १८ को राति १२ बजेदेखि निर्वाचनको दिन २१ गते राति १२ बजेसम्मका लागि जिल्लाका सबै खाले नेपाल–भारत नाका बन्द गरिनेछ ।
बारा — जिल्ला प्रशासन कार्यालय बाराले फागु पर्व र निर्वाचन सुरक्षाको ध्यानमा राख्दै जिल्लाभर आज शुक्रबारदेखि मदिरा बिक्री वितरण, ओसारपसारसहित सार्वजनिक ठाउँमा मदिरा सेवनमा रोक लगाएको छ ।
निर्वाचन शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न मतगणनाको अन्तिम नतिजा नआएसम्मका लागि रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए ।
बिहीबार सार्वजनिक सूचना गर्दै यस्तो रोक लगाइएको हो । साथै फागुन १८ को राति १२ बजेदेखि निर्वाचनको दिन २१ गते राति १२ बजेसम्मका लागि जिल्लाका सबै खाले नेपाल–भारत नाका बन्द गरिने उनले बताए ।
निर्वाचन अर्थात् फागुन २१ गते बिहीबारका दिन अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउन नपाउने गरी रोक लगाइएको उनले बताए । एम्बुलेन्स, कूटनीतिक निकाय, दूध, औषधि, पिउने पानीको ट्याङ्कर, पिउने पानी तथा ढल मर्मत, शव वाहन, विद्युतीय र दूरसञ्चार सेवा, सुरक्षा निकायका सवारी साधनबाहेक सबैमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
