निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइएको हो ।
राजविराज —
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सप्तरीमा फागुन १८ गते साँझ ७ बजेदेखि मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जारी गरेको सूचनामा निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइएको हो ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम सूचना जारी गरिएको जनाइएको छ ।
