सोमबार दिउँसो साढे ४ बजेदेखि लागू हुने गरी कर्फ्यु हटाइएको हो।
पर्सा — जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा जारी गरिएको कर्फ्यु आदेश हटाएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार सोमबार दिउँसो साढे ४ बजेदेखि लागू हुने गरी कर्फ्यु हटाइएको हो। जिल्ला सुरक्षा समितिको निर्णय र पछिल्लो समयको शान्ति सुरक्षाको अवस्थाको विश्लेषणका आधारमा कर्फ्यु निरन्तरता आवश्यक नदेखिएको जनाउँदै प्रशासनले उक्त आदेश फिर्ता लिएको हो।
तर, सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सोमबार बेलुकी ६ बजेदेखि मंगलबार बिहान ६ बजेसम्मका लागि वीरगञ्ज महानगरपालिकाको निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा हुने क्षेत्रअन्तर्गत पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ रानीघाट पुल, उत्तरतर्फ पावरहाउस चोक र दक्षिणतर्फ घण्टाघर चोक तोकिएको छ। निषेधाज्ञा अवधिमा कुनै पनि किसिमको भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न निषेध गरिएको छ।
प्रशासनले आदेश उल्लंघन गरे कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै सर्वसाधारणलाई शान्ति, संयमता र सहकार्य गर्न आग्रह गरेको छ।
