घटनामा संलग्न २२ जनाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
रौतहट — गौर नगरपालिका–६ सवगढा क्षेत्रमा भएको झडपको क्रममा भएको तोडफोड, आगजनीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका २२ जनालाई प्रहरीले सोमबार आपराधिक उपद्रो तथा आगजनी कसुर मुद्दा चलाएको छ ।
दुई पक्षबीच शुक्रबार र शनिबारको झडपमा आधा दर्जन सवारी र केही घरमा तोडफोड तथा आगजनी भएको थियो । घटना लगत्तै शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध आपराधिक उपद्रो तथा आगजनी कसुर अन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान थालेको जिल्ला प्रहरीका डीएसपी विष्णप्रदीप बस्यालले जानकारी दिए ।
अनुसन्धानका क्रममा प्रहरीले सोमबार सबगढाबाट थप दुई जना शुभनारायण साह र समिर मियाँलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनामा संलग्न २२ जनाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । शुक्रबार सबगढा गाउँमा बिहेमा हिँडेको जन्तीको टोलीले चर्को आवाजमा 'डिजे' बाजा बजाएको निहुँमा दुई पक्षबीच झडप भएको थियो ।
झडपले उग्ररुप लिएपछि शनिबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले गौर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । झडपका क्रममा मोटरसाइकल र कारमा आगजनी भएको थियो । केही घरमा समेत तोडफोड गरिएको थियो । सोमबार बिहान नागरिक समाजको अगुवाईमा सद्भाव र्याली निकालेर कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।
