चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल अगाडि प्रदर्शन

मृतकका आफन्तले घटनाको छानबिन, दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग गरिरहेका छन् ।

फाल्गुन १०, २०८२

विद्यानन्द राम

Protest in front of hospital alleging death of newborn due to doctor's negligence

राजविराज — चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज अगाडि पीडित परिवार तथा आफन्तले प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले घटनाको छानबिन, दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग गरिरहेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् भने त्यसअघि अस्पताल प्रशासनमा ढुंगामुढासमेत गरेका थिए ।

जिल्लाको विष्णुपुर गाउँपालिकाका सन्तोष सदाकी श्रीमती २५ वर्षकी सुजानदेवी सदालाई शुक्रबार माइती छिन्नमस्ता गाउँपालिका–५ लोखरमबाट सुत्केरी गराउन अस्पताल ल्याइएको थियो । शनिबार शल्यक्रियापछि पोस्ट–अपरेटिभ वार्डमा सारिएकी सुजानलाई बान्ता भएर आइतबार बिहान मृत्यु भएको हो ।

बिहान करिब ३ बजे सुजानले बान्ता हुँदा वार्डमा चिकित्सक नभेटिएको तथा त्यसअघि शल्यक्रियामा पनि चिकित्सकले लापरबाही गरेको उनका ससुरा पुलकित सदाको आरोप छ । ‘चिकित्सकको लापरबाहीले बुहारीको मृत्यु भयो,’ उनले भने, ‘छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ ।’

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीप साहले शल्यक्रियापछि आमा र बच्चा पूर्णरुपमा स्वस्थ्य नै रहेको बताए । तर, बान्ता हुँदा श्वास नलीमा पुगेर सुत्केरीको मृत्यु भएको मेसु डा.साहको भनाइ छ ।

‘सुत्केरी टिबी रोगको विरामी पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘शल्यक्रियामा कुनै त्रुटि भएको छैन् ।’ बान्ता हुँदा वार्डमा चिकित्सक नभेटिएको विषयमा डा.साहले त्यहाँ नर्सहरु मात्रै रहेको बताए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully