उपचार खर्च चुक्ता गरिएपछि सप्तरीको राजविराज–१५, मसहरनियाकी ३५ वर्षीया शिवकुमारी मण्डल शनिबार राति डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी दीपेन्द्रकुमार यादवले जानकारी दिए ।
राजविराज — आर्थिक अभावले उपचारपश्चात् निको भएको चार दिनसम्म पनि डिस्चार्ज हुन नसकेकी सप्तरीको राजविराज–१५, मसहरनियाकी ३५ वर्षीया शिवकुमारी मण्डल शनिबार राति घर फर्किएकी छन् ।
‘कान्तिपुर’ मा समाचार सार्वजनिक भएपछि छिन्नमस्ता गाउँपालिकाले शनिबार राति उनको उपचार खर्च चुक्ता गरेको हो ।
छिन्नमस्ता गाउँपालिकाकै अध्यक्ष विद्यानन्द चौधरी सवार गाडीले गत सोमबार बेलुका उनलाई राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत राजविराज–२, तेतरीगाछीमा ठक्कर दिएको थियो । घाइते मण्डललाई अध्यक्ष चौधरीले नै छिन्नमस्ता अस्पताल राजविराज पुर्याएर भर्ना गरेका थिए ।
उपचारपश्चात् मण्डल गत बुधबार नै निको भइसकेकी थिइन् । तर, गाउँपालिका अध्यक्ष चौधरी अस्पताल नफर्किंदा र आर्थिक रूपले विपन्न रहेकी मण्डलले पनि उपचारमा लागेको खर्च तिर्न नसक्दा अस्पतालमै थिइन् । अस्पतालका सूचना अधिकारी दीपेन्द्रकुमार यादवले उपचार खर्च चुक्ता गरिएपछि शनिबार राति डिस्चार्ज भएको जानकारी दिए । उनका अनुसार उपचार, औषधि र चमेना गृह (क्यान्टिन) खर्च गरी २१ हजार ५ सय रुपैयाँ भएको थियो ।
