टाउको, बायाँ हात र शरीरका विभिन्न भागमा चोट लागेकी शिवकुमारी मण्डल उपचारपछि गत बुधबार नै निको भइसकेकी छन् । तर, उपचारमा लागेको खर्च तिर्न नसक्दा अहिले उनी अस्पतालमै छिन् ।
What you should know
राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी सवार गाडीले ठक्कर दिँदा घाइते भएकी महिला उपचारपश्चात् निको भएको चार दिनसम्म पनि अस्पतालमै छन् । आर्थिक अभावले खर्च चुक्ता गर्न नसकेपछि डिस्चार्ज हुन पाएकी छैनन् ।
राजविराज–१५, मसहरनियाकी ३५ वर्षीया शिवकुमारी मण्डललाई सोमबार साँझ पालिकाको गाडीले ठक्कर दिएको थियो । राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत राजविराज–२, तेतरीगाछीमा दुर्घटना भएको थियो । घाइतेलाई गाउँपालिका अध्यक्ष चौधरीले छिन्नमस्ता अस्पताल राजविराज पुर्याएर भर्ना गरेका थिए । त्यसपछि चौधरी अस्पताल फर्किएनन् । टाउको, बायाँ हात र शरीरका विभिन्न भागमा चोट लागेकी मण्डल उपचारपछि गत बुधबार नै निको भइसकेकी छन् । तर, उपचारमा लागेको खर्च तिर्न नसक्दा अहिले उनी अस्पतालमै छन् ।
‘ठक्कर दिएपछि गाडीमै भएकाले बोकेर अस्पतालसम्म ल्याए । उपचार खर्च सबै बेहोर्छु भनेर मेरैअगाडि भनेका थिए, यहाँबाट गएपछि हेर्नसम्म आएनन्,’ मण्डलले भनिन्, ‘सुरुका दुई दिन भोकभोकै बसेँ, अस्पतालले नै बाहिरको होटलमा खाना खाने व्यवस्था मिलाइदियो ।’
प्रहरीका अनुसार मधेश प्रदेश ०६–००१ झ ०००५ नम्बरको गाडीले ठक्कर दिएको हो । मण्डलसँग उपचार खर्चबापत तिर्ने रकम छैन । ‘अस्पतालले बुधबार नै डिस्चार्ज गरिदिने भनेको थियो, तर पालिका अध्यक्ष पैसा तिर्न आएनन्,’ उनले भनिन्, ‘श्रीमान्सँग पनि पैसा छैन, अस्पतालमै बस्नुपर्ने बाध्य छ ।’
अस्पतालका सूचना अधिकारी दीपेन्द्रकुमार यादवले पालिका अध्यक्ष उपचार भइसके पनि खर्च तिर्न नआएको बताए । ‘अध्यक्षज्यूलाई फोन गरेर उपचार तथा खर्चबारे जानकारी गरायौं, तर बिल तिर्न आउनुभएको छैन,’ उनले भने, ‘हामी फेरि पनि उहाँसँग सम्पर्क गर्ने प्रयासमा छौं ।’
गाउँपालिका अध्यक्ष चौधरीसँग सम्पर्क हुन सकेन । गाउँपालिकाका गुनासो सुन्ने अधिकारी जितेन्द्र झाले डिस्चार्ज गराउने विषयमा अस्पताल प्रशासनले आफूहरूलाई जानकारी नगराएको बताए । छिन्नमस्ता अस्पताल छेउमै रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा प्रहरी हवलदार राजेश पासवान नेतृत्वमा प्रहरी टोली छ । ती टोलीले दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालयमा जानकारीसमेत गराएको बताए ।
