निर्वाचनको ७२ घण्टाअघि भारतसँगको सीमा बन्द गर्ने निर्णय  

बैठकमा निर्वाचनको समयमा हुन सक्ने क्रस बोर्डर अपराधको सम्भावनालाई लिएर आवश्यक सतर्कता अपनाउने तथा सीमामा हुन सक्ने मदिराको खरिद बिक्री र सेवन तथा नक्कली नोटको कारोबारमा पनि आवश्यक निगरानी बढाउने सहमति भएको छ ।

फाल्गुन ९, २०८२

शंकर आचार्य

Decision to close border with India 72 hours before election

पर्सा — नेपाल र भारतका सुरक्षा अधिकारीहरुको शनिबार वीरगन्जमा सम्पन्न सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभाको निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसँगको सीमा पूर्णरुपले बन्द गर्ने निर्णय गरेको छ । 

वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकीमा सम्पन्न दुई देशिय बैठकले उक्त निर्णय गरेको हो । बैठकमा निर्वाचनको समयमा हुन सक्ने क्रस बोर्डर अपराधको सम्भावनालाई लिएर आवश्यक सतर्कता अपनाउने तथा सीमामा हुन सक्ने मदिराको खरिद बिक्री र सेवन तथा नक्कली नोटको कारोबारमा पनि आवश्यक निगरानी बढाउने सहमति भएको छ ।

बैठकमा भारतीय पक्षले पहिलो पटक वीरगन्ज हुँदै भारतको रक्सौल प्रवेश गर्ने सिर्सिया नदीमा भइरहेको जलप्रदूषणको विषयबारे चिन्ता जनाउँदै नेपाल हुँदै भारततर्फ जाने पानी वाटर ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरेर मात्र पठाउन नेपाली पक्षलाई आग्रह गरेको छ । यसअघिका यस्तो बैठकमा भारतीय पक्षले यो विषयमा मुख खोलेको थिएन । यसबाहेक नेपाल-भारत सीमामा भइरहेको अतिक्रमण हटाउन पनि भारतीय पक्षले नेपाली पक्षसँग सहयोगको माग गरेको छ ।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र भारत बिहार पूर्वी चम्पाराण जिल्लाका डिक्सट्रिट मेजिस्ट्रेट सौरभ जोरवाल र पश्चिम चम्पारणका जिल्लाका मेजिस्ट्रेट धर्मेन्द्र कुमारको नेतृत्वमा दुवै देशका मातहतका सुरक्षा अधिकारीहरु सहभागी थिए । नेपालतर्फ नेपाली सेनाबाहेक सबै सुरक्षा निकायका अधिकारीहरु पनि सहभागी थिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully