सिरहाको हरकट्टीमा मतदान केन्द्र कायम नगरिए मतदान नगर्ने स्थानीयको चेतावनी

हरकट्टी र कुन्डलपुरमा ११ सय ५४ मतदाता छन् । मतदान केन्द्रको विषय अन्योल बनेपछि यसविरुद्ध स्थानीयहरू वडा कार्यालयको गेटमा शुक्रबार दुई घण्टा धर्नासमेत दिएका छन् ।

फाल्गुन ८, २०८२

विनय आजाद

Locals warn that they will not vote if a polling station is not established in Harkatti, Siraha

सिरहा — सिरहाको औरही गाउँपालिका-१ स्थित हरकट्टीमा मतदान केन्द्र कायम नगरिए आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदान बहिष्कार गर्ने स्थानीयले चेतावनी दिएका छन् । यहाँका हरकट्टी र कुन्डलपुरका स्थानीयले मतदान बहिष्कारको घोषणा गरेका हुन् ।

यसअघि यहाँका मतदाताका लागि दरहियामा मतदान केन्द्र तोकिएको थियो । तर, यो मतदान केन्द्र टाढा पर्ने भन्दै स्थानीय अगुवाहरूले पहल गरेपछि जिल्ला निर्वाचन कार्यालय, सिरहाले हरकट्टीस्थित आधारभूत विद्यालयमा मतदान केन्द्र थपिदिएको थियो । तर वडाध्यक्ष सुरैतलाल ठाकुर र चार वडा सदस्यले संयुक्त रूपमा मतदान केन्द्र थप्न गरिएको निर्णयविरुद्व उच्च अदालत, राजविराजमा रिट हालेपछि अदालतले तत्काल यथास्थितिमा राख्न आदेश जारी गरेको छ । यहाँ मतदान केन्द्र नरहने भएपछि स्थानीय आक्रोशित हुन् । 

हरकट्टी र कुन्डलपुरमा ११ सय ५४ मतदाता छन् । मतदान केन्द्रको विषय अन्योल बनेपछि यसविरुद्ध स्थानीयहरू वडा कार्यालयको गेटमा शुक्रबार दुई घण्टा धर्नासमेत दिएका छन् । 'हामी निकै पहल गरेर मतदान केन्द्र तोक्न लगाएका थियौं, तर अदालतको आदेशले हामी अत्यन्तै दुःखी छौं,' उनले भने, 'यो विषय नटुंगिए यो चुनावमा हामी मतदान गर्दैनौं ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully