बिहारीलाल लाठ कर्मवीर सम्मानबाट आचार्य सम्मानित

आचार्यको नेपाली भाषा तथा साहित्य, भोजपुरी भाषा–साहित्य, शिक्षण र पत्रकारिता क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखिको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

फाल्गुन ६, २०८२

शंकर आचार्य

Acharya honored with Biharilal Lath Karmaveer Samman

What you should know

पर्सा — बिहारीलाल लाठ कर्मवीर सम्मानबाट साहित्यकार एवं पत्रकार मुकुन्द आचार्य सम्मानित भएका छन्। रिलिफ सोसाइटी अफ कमर्सका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष स्वर्गीय बिहारीलाल लाठको १४औँ पुण्यतिथिको अवसरमा बुधबार वीरगन्जमा आयोजित समारोहमा आचार्यलाई दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको हो।

आचार्यको नेपाली भाषा तथा साहित्य, भोजपुरी भाषा–साहित्य, शिक्षण र पत्रकारिता क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखिको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

समारोहका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम तथा रिलिफ सोसाइटी अफ कमर्सका अध्यक्ष योगेन्द्र प्रसाद यादवले संयुक्त रूपमा आचार्यलाई सम्मान गरेका थिए।

समारोहमा आफ्ना–आफ्ना क्षेत्रबाट समाजमा योगदान गरेका जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियार, योग प्रशिक्षक रामप्रसाद पण्डित, पाइलट सौरभ रौनियार, उद्यमी दीप्ति धुरका तथा शिक्षिका डा. नेहा अग्रवाललाई पनि सम्मानपत्रसहित सम्मान गरिएको थियो।

सो अवसरमा राधा देवी वृजलाल लाठ ट्रष्टका तर्फबाट पर्सा र बाराका ११ महिलालाई उद्यमशीलता वृद्धिका लागि सिलाइ मेसिन वितरण गरिएको थियो। रिलिफ सोसाइटी अफ कमर्सका सल्लाहकार गणेश प्रसाद लाठले संस्थाले हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परा बसालेको र यसले ती व्यक्तित्वलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरे।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले संस्थाले हरेक वर्ष समाजमा अनवरत रूपमा आफ्ना–आफ्ना क्षेत्रमा अतुलनीय योगदान पुर्‍याइरहेका व्यक्तिहरूलाई खोजी–खोजी सम्मानित गर्ने असल परम्परालाई निरन्तरता दिनुपर्ने सुझाव दिए।

चिकित्सक डा. रामजी रामले सामाजिक क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई यसरी सम्मान गर्दा उनीहरू थप उत्साहित हुने भएकाले यो परम्परालाई निरन्तरता दिनुपर्ने बताए।

प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले समाजका लागि बिना कुनै स्वार्थ निरन्तर योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने कार्य सराहनीय भएको बताए। सम्मानित व्यक्तित्व आचार्यले सम्मानले आफूलाई थप हौसला मिलेको र आफ्नो कर्म क्षेत्रमा लाग्न नयाँ ऊर्जा प्राप्त भएको प्रतिक्रिया दिए।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully