मधेशका ५८ प्रतिशत मतदानस्थल ‘अति संवेदनशील’ सूचीमा

विगतका निर्वाचनमा भएका बुथ कब्जा, झडप र राजनीतिक विवादका घटना, नेपाल–भारतबीचको खुला सिमाना, जेन–जी आन्दोलनपछि सुरक्षा चुनौतीको दृष्टिकोणले मतदानस्थललाई सुरक्षा निकायले सामान्य, संवेदनशील र अति संवेदनशीलको सूचीमा वर्गीकरण गरेको हो ।

फाल्गुन ५, २०८२

शिव पुरी

58 percent of polling stations in Madhesh on 'highly sensitive' list

What you should know

रौतहट — वैशाख २०७९ को स्थानीय तह निर्वाचनमा रौतहटको यमुनामाई गाउँपालिका–२ भेडियाही मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेर दौडिएको दृश्यले सिंगो देशको ध्यान केन्द्रित भएको थियो ।

फितलो सुरक्षा व्यवस्था र लापरबाहीले त्यतिबेला चुनाव मात्र बिथोलिएन, सुरक्षा चुनौती पनि बढाएको थियो । कडा सुरक्षाबीच अर्को दिन मात्र मतदान भएको थियो । आसन्न प्रतिनिधिसभा निर्वाचनमा यो मतदान केन्द्र अति संवेदनशीलको सूचीमा राखिएको छ ।

२०७९ को स्थानीय निर्वाचनमै सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित शिवनगरको रासनारायण प्राथमिक विद्यालयमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको थियो । प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको थियो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मतदान केन्द्रभित्र अनधिकृत रूपमा मान्छे पसेको, मतदातालाई धम्क्याएको विषयमा महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको थियो । झडपका कारण केहीबेर मतदान रोकिएको थियो । 

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा सर्लाही–६ मा मतदान केन्द्र कब्जा गर्ने प्रयास र झडप हुँदा गोली चलेको थियो । त्यस क्षेत्रमा कांग्रेसबाट अमरेशकुमार सिंह, तमलोपाका महन्थ ठाकुर र मधेशी दलबाट शिवपुजन यादवबीच कडा प्रतिस्पर्धा थियो । बुथ कब्जाको होहल्लाबीच गढैया मतदान केन्द्र बाहिर बम विस्फोट हुँदा अमरेशकुमार सिंहका दाजु शम्भु सिंहको मृत्यु भएको थियो । 

मधेशका जिल्लामा चुनावका बेला दलहरूबीचको प्रतिशोधले झडप, बुथ कब्जाको प्रयासजस्ता गतिविधि हुँदै आएको छ । यसैलाई विश्लेषण गर्दै यसपालि पनि सुरक्षा निकायले मधेशका जिल्लाका धेरै मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ । 

भारतसँग ३ सय ६७ किलोमिटर सिमाना रहेको मधेशका आठ जिल्लामा ४ हजार ४ सय ७१ मतदान केन्द्र र २ हजार १ सय ६० मतदानस्थल छन् । ती मतदानस्थलमध्ये झन्डै ५८ प्रतिशत अर्थात् १ हजार २ सय ३६ मतदानस्थललाई अति संवेदनशील मानिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले ७ सय ६३ लाई संवेदनशील र २ हजार ४ सय ७१ वटालाई सामान्य वर्गीकरण गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

सबैभन्दा बढी सप्तरीका मतदान केन्द्रहरू अति संवेदनशील सूचीमा राखिएको छ । सप्तरीका २ सय ९, सिरहाका १ सय ५४, धनुषाका १ सय ९४, महोत्तरीका १ सय ६३, सर्लाहीका १ सय ५८, रौतहटका १ सय ५२, बाराका १ सय ४५ र पर्साका ६२ मतदानस्थल अति संवेदनशील सूचीमा रहेको कार्यालयले जनाएको छ । ३५ लाख १७ हजार १ सय २३ मतदाता रहेको मधेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा १ हजार ५४ उम्मेदवार चुनावी मैदानमा छन् । एउटा निर्वाचन क्षेत्रमा एकदेखि दुई लाखसम्म मतदाता छन् ।

विगतका निर्वाचनमा भएका बुथ कब्जा, झडप र राजनीतिक विवादका घटना, नेपाल–भारतबीचको खुला सिमाना, जेन–जी आन्दोलनपछि सुरक्षा चुनौतीको दृष्टिकोणले मतदानस्थललाई सुरक्षा निकायले सामान्य, संवेदनशील र अति संवेदनशीलको सूचीमा वर्गीकरण गरिएको हो । जेन–जी आन्दोलनपछि सिर्जित सुरक्षा अवस्था यो निर्वाचनका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । २४ भदौमा लुटिएका हतियार र फरार कैदीहरू अधिकांश नियन्त्रणमा आउन सकेका छैनन् । ती हतियार निर्वाचनको समयमा बुथ कब्जा गर्न वा विपक्षीलाई तर्साउन प्रयोग हुन सक्ने जोखिम छ ।

58 percent of polling stations in Madhesh on 'highly sensitive' list

यसपालि मधेशमा शीर्ष नेताहरू, नयाँ र ठूला राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४ बाट उम्मेदवार छन् । रास्वपाका अमरेशकुमार सिंह त्यही क्षेत्रबाट चुनावी मैदानमा छन् । यो क्षेत्रमा प्रत्येक निर्वाचनमा झडपका घटना हुँदै आएको छ । 

सर्लाही–२ मा नेपाली राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो छन् । सोही क्षेत्रमा नेकपा नेता महेन्द्र राय यादव उम्मेदवार छन् । सर्लाही ३ मा नेकपा नेता नारायणकाजी श्रेष्ठ उम्मेदवार छन् । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, धनुषा–३ मा कांग्रेस नेता बिमलेन्द्र निधि, महोत्तरी–१ मा नेकपा नेता गिरिराजमणि पोख्रेल, महोत्तरी–२ मा जसपाका शरतसिंह भण्डारी उम्मेदवार छन् ।

 रौतहट–१ मा नेकपाका सहसंयोजक माधवकुमार नेपाल, रौतहट–३ मा आजपाका अध्यक्ष प्रभु साह, बारा–३ मा कांग्रेस नेता फरमुल्लाह मन्सुर उम्मेदवार छन् । यी उम्मेदवारहरूसित प्रतिस्पर्धामा रहेका नयाँ/पुराना उम्मेदवारबीचको ‘इगो’ ले झडप निम्त्याउन सक्ने सुरक्षा अधिकारीहरूको आकलन छ ।

कांग्रेसका निवर्तमान सांसद एवं रौतहट–४ का उम्मेदवार देवप्रसाद तिमल्सिना जेन–जी आन्दोलनका क्रममा फरार अपराधी र लुटिएका हतियार प्रयोग गरी निर्वाचन बिथोल्ने प्रयास हुन सक्ने बताउँछन् । ‘पहिलेको जस्तै हेलचक्य्राइँ गर्न हुन्न, यस पटक सुरक्षाकर्मीको मनोबल आन्दोलनले खस्केको छ,’ उनले भने, ‘यही बेला विभिन्न तत्त्वले फाइदा उठाउन सक्छ ।’

अहिले सबै निर्वाचन क्षेत्रमा सुरक्षा निकायको संयुक्त गस्ती भइरहेको छ । अति संवेदनशील स्थानमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । सेना, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी पाँच वटै दस्तालाई निर्वाचन सुरक्षामा जिम्मेवारी र भूमिका किटान गरी परिचालन गरिँदै छ । 

खुला सिमानाको फाइदा उठाउँदै हतियार र अपराधीहरू ओसारपसार हुन नदिन सीमानाकामा कडा जाँच सुरु गरिएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासका प्रमुख डीआईजी कृष्ण ढकालले बताए । ‘निर्वाचनका बेला सुरक्षा व्यवस्थामा कुनै किसिमको सम्झौता हुँदैन,’ उनले भने, ‘हामीले सीमा क्षेत्रमा गस्ती र जाँच कडा बनाइरहेका छौं ।’ 

रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालले फरार कैदी र लुटिएका हतियारले सुरक्षा चुनौती बढाएको बताए । विगतका घटनालाई मध्यनजर गर्दै कडा सुरक्षा व्यवस्था हुने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी कमल थापाले जानकारी दिए । ‘प्रदेशका ८ जिल्लालाई नै उच्च प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘सुरक्षा थ्रेटको अवस्था हेरेर मतदान केन्द्र र त्यसको वरपर सुरक्षा व्यवस्था मिलाउने छौं ।’ निर्वाचनको ४८ घण्टा अगाडिदेखि नेपाल–भारत सीमानाका पूर्ण रूपमा बन्द गरिने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । 

आसन्न चुनावमा सुरक्षा चुनौती रहेको पूर्वप्राध्यापक योगेन्द्र राय यादव बताउँछन् । ‘विगतको चुनावभन्दा यस पटक फरक अवस्था देखिएको छ,’ उनले भने, ‘त्यसैले धाँधलीरहित र शान्ति–सुरक्षाबीच निर्वाचन सम्पन्न गराउनुपर्ने जिम्मेवारी छ ।’

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully