कालो प्लास्टिकको पुरियामा ब्राउन सुगर बरामद
रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित गणेश चोकबाट प्रहरीले आइतबार साँझ लागुऔषध ब्राउनसुगर सहित चार जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले चन्द्रपुर– १ बागमतीका ३२ वर्षीय तुलबहादुर लामा उदयपुर गाईघाट घर भएकी २३ वर्षीया प्रिया तामाङ, चन्द्रपुर –४ का ३५ वर्षीय राजबलम पाख्रिन मगर र २९ वर्षीय प्रशान्त तामाङलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
उदयपुरकी प्रिया चन्द्रपुर–४ गणेश चोकस्थित दुर्गाबहादुर घलेको घरमा डेरा लिई बस्दै आएकी थिइन् । प्रहरीले सुरुमा तुलबहादुर लामाको शरीर खानतलासी गर्दा उनले लगाएको जिन्सको पकेटमा ब्राउन सुगर सेवन गर्न प्रयोग गरिने ५ रुपैयाँको फोल्ड, ब्लेड फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा अन्य तीनज नाको नाम बताएका थिए । लामाकै बयानका आधारमा प्रिया, राज र प्रशान्तलाई पक्राउ गरिएको डीएसपी रुपा लाबुङले जानकारी दिइन् ।
प्रहरीले उनीहरू बसेको स्थानबाट ब्राउनसुगर तौल गरिने मसिन, ब्राउन सुगर राख्न प्रयोग हुने कालो प्लास्टिक टुक्रा बरामद गरेको थियो । पक्राउ गरेकासित सोधपुछ गर्दा चन्द्रपुर–१ स्थित अमृत घिसिङको घरको कोठामा प्रशान्त र उनले लुकाइराखेको लागुऔषध रहेको जानकारी पाए पछि प्रहरी पुगेको थियो ।
सोही घरको कुनामा कालो प्लास्टिकको पुरियामा राखेको २४० मिलिग्राम ब्राउनसुगर सहित प्रशान्तलाई नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी लाबुङले बताइन् ।
