एचपीभी खोप कार्यक्रमअन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालयबाहिर रहेका १० वर्षका सबै किशोरीले यो खोप लगाएका हुन् ।
पर्सा — पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित एचपीभी खोप लगाएका छन् ।
जिल्लामा संचालित एचपीभी खोप कार्यक्रमअन्तर्गत कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालयबाहिर रहेका १० वर्षका सबै किशोरीले यो खोप लगाएका हुन् । खोप कार्यक्रम २५ माघदेखि सुरु भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयले यो कार्यक्रम संचालन गरेको हो । कार्यालयका खोप अधिकृत जयमोद ठाकुरका अनुसार कार्यक्रमअन्तर्गत यस बर्ष ९ हजार ७ सय ५२ बालिकालाई यो खोप दिने लक्ष्य थियो ।
गत वर्ष कार्यालयले पहिलोपटक जिल्लामा यो खोप अभियान चलाएको थियो । त्यसक्रममा छुटेका हाल कक्षा ७ देखि कक्षा १० सम्म अध्ययनरत छात्राहरूलाई पनि यस वर्ष कार्यक्रमअन्तर्गत खोप दिइँदैछ । निःशुल्क र सुरक्षित रहेको यो खोप अत्यन्त प्रभावकारी रहेको उनले बताए । अभियानअन्तर्गत ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाइँदैछ।
एचपीभी भाइरसका कारण हुने पाठेघरको मुखको क्यान्सर महिलामा बढ्दो समस्या बन्दै गइरहेको छ । समयमै खोप लगाए यसबाट जोगिन सक्ने कार्यालयको भनाइ छ ।
