पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धान जारफ
What you should know
पर्सा — माघ २६ गते वीरगन्ज-१० आदर्शनगरमा सशस्त्र प्रहरी र भन्सार कर्मचारीमाथि आक्रमण गरेको घटनामा संलग्न दुई भारतीयसहित आधा दर्जन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय रुन्चे मदन भन्ने मदन गुप्ताको गोदाममा भन्सार छली चोरी पैठारी गरी भित्र्याएका सामान अनधिकृत रूपमा भण्डारण गरी राखेको भनी सूचनाको आधारमा सशस्त्र प्रहरी बल गुल्म हेड क्वार्टर वीरगन्ज १३ नम्बर गण पर्सा र वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अधिकृतसहितको संयुक्त टोलीमाथि घेरा हाली ढुंगामुढा हान्ने र सवारी साधन तोडफोड गरिएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा वीरगन्ज–१० घडिअर्वाका ४६ वर्षीय प्रमोद कुमार कानु, वीरगन्ज-११ छप्कैयाका ३८ वर्षीय दीपराज सहनी मलाह, वीरगन्ज–१० का २० वर्षीय कुन्जन सर्राफ, पर्सा विन्दवासिनी गाउँपालिका–५ का ५५ वर्षीय श्रीचन्द्रप्रसाद साह छन् । त्यस्तै पक्राउ पर्ने भारतीय नागरिकमा रक्सौल बिहारका ४० वर्षीय प्रभु महतो, भागलपुर पोडियाका ३५ वर्षीय प्रितमकुमार चौधरी र छन् ।
पक्राउ परेकामाथि ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
