मधेशमा बालेन्द्र : उनी हिँडेको हिड्यै, समर्थक हेरेको हेर्‍यै

मिर्चैया थाना चोकस्थित पूर्वपश्चिम राजमार्गमा दुई घन्टादेखि प्रतीक्षारत समर्थकलाई गाडीबाटै अभिवादन गर्दै र घण्टी बजाउँदै उनी यहाँबाट हिँडेका छन् ।

माघ २७, २०८२

विनय आजाद

Balendra in Madhesh: He walks around, his supporters watch him.

सिरहा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह मंगलबार ठिक २ बजेर २९ मिनेटमा मिर्चैया आइपुगे । सप्तरीको विभिन्न स्थान हुँदै हुलाकी सडक भएर बरियारपट्टीबाट जिरोमाइल आएका शाह पूर्वपश्चिम राजमार्गबाट मिर्चैया आइपुगेका हुन् ।

सिरहाबाट कल्याणपुर लागेका उनी सदरमुकामबाट कमला नदी हुँदै धनुषा र महोत्तरीका विभिन्न स्थानमा पनि आजै पुग्ने कार्यक्रम छ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशका विभिन्न स्थानमा पुग्ने र घण्टी बजाउँदै निस्किहाल्ने गरेका शाहले मिर्चैयामा पनि त्यसै गरे ।

मिर्चैया थाना चोकस्थित पूर्वपश्चिम राजमार्गमा दुई घन्टादेखि प्रतीक्षारत समर्थकलाई गाडीबाटै अभिवादन गर्दै र घण्टी बजाउँदै उनी यहाँबाट हिँडेका छन् । एकछिन पनि नरुकी सरासर हिँडेपछि समर्थक निराश हुँदै यहाँबाट फर्केका थिए । 'हामी उहाँलाई सुन्न चाहन्थ्यौं, यस क्षेत्रका विषयमा उहाँको धारणा के छ भन्ने सुन्ने उद्देश्यले यहाँ आएको थिएँ,' भिडमा भेटिएका मिर्चैयाका रामेन्द्र यादवले भने, 'तर, उहाँ बोल्न त के, रोकिनु पनि भएन् ।'

यहाँका सामाजिक अगुवाहरूले बालेन्द्रको यो शैली राम्रो नभएको टिप्पणी गरेका छन् । 'सयौं समर्थक पर्खिरहेका थिए तर बालेनको गाडी रोकिएन,' सिरहाका जितेश कर्णले भने,' उनी नेता कि सेलिब्रेटी भन्ने कन्फ्युजन छ ।'

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully