यथाशीघ्र पुल निर्माणको सुनिश्चित हुनुपर्ने मागसहित स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
सिरहा — हुलाकी राजमार्गअन्तर्गत औरही गाउँपालिका-५ स्थित सहजा खोलामा सोमबार बिहानैदेखि स्थानीय आन्दोलनमा छन् ।
यथाशीघ्र पुल निर्माणको सुनिश्चित हुनुपर्ने मागसहित स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
यसअघि सहजामा गएराति मध्यरातमा एक कार खसेर दुर्घटना भएको थियो । राजबिराजबाट जनकपुरतर्फ जाँदै गरेको बीएबी ७८२१ नम्बरको कार दुर्घटना हुँदा चालकसहित सवार तीन जना घाइते भएका छन् ।
धनुषाको जनकपुरधाम उप-महानगरपालिका-१४ मुजेलिया बस्ने चालक २२ वर्षीय अभिषेक कुमार राय, पछाडि सवार ३९ वर्षीया दिपिका कुमारी उपाध्याय र २० वर्षीया प्रिति पट्टेल घाइते भएका हुन् ।
यो दुर्घटनापछि बिहानैदेखि राजमार्ग अवरुद्ध पारेर स्थानीयले प्रदर्शन गरिरहेका छन् । राजमार्ग अवरुद्ध हुँदा आवागमन नै ठप्प बनेको छ भने यात्रुहरू राजमार्गमै अलपत्र परेका छन् । 'म बिहान आठ बजे नै यहाँ आइपुगेको हुँ, जनकपुरमा काम थियो,' सप्तरीका सुकदेव साहले भने, 'तर, राजमार्ग अवरुद्ध हुँदा यतै अलपत्र परेको छु ।'
आफूहरू बिहानैदेखि आन्दोलनरत भए पनि ठेकेदार र सम्बन्धित निकायबाट ठोस प्रतिबद्धता नआउँदा अझै भोकभोकै प्रदर्शन गरिरहेको स्थानीय अगुवा सन्तोष यादवले बताए ।
सहजा खोलामा लामो समयदेखि पुल निर्माण हुँदै आए पनि ठेकेदार र सम्बन्धित निकायको लापरबाहीले अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । जसका कारण यहाँ लगातार दुर्घटना हुँदै आएको छ ।
