चन्द्रपुर नगरपालिका–६ बाट सर्लाहीको कबिलासी नगरपालिका– १० सलेमपुरका ३५ वर्षीया निर्मला महतोलाई आइतबार ईलाका प्रहरी चन्द्रनिगाहपुरले पक्राउ गरेको डीएसपी रुपा लाबुङले जानकारी दिइन् ।
What you should know
रौतहट — केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पीडितहरुले दिएको उजुरीका आधारमा चन्द्रपुर नगरपालिका–६ बाट सर्लाहीको कबिलासी नगरपालिका– १० सलेमपुरका ३५ वर्षीया निर्मला महतोलाई आइतबार ईलाका प्रहरी चन्द्रनिगाहपुरले पक्राउ गरेको डीएसपी रुपा लाबुङले जानकारी दिइन् । उनले नेहा, निशा र पुनम कुमारीको नाम प्रयोग गरी ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
लालबन्दी नगरपालिकाका राजेश्वर साह, चन्द्रपुरका सन्तोषबहादुर विश्वकर्मा, प्रवीण साह र गुजरा नगरपालिकाका विजय साह बनियाँले महतोबाट ठगिएको भन्दै एक साता अघि प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार पीडित राजेश्वरसित निर्मलाको एक वर्षअघि सर्लाहीको नवलपुर बजारमा चिनजान भएको थियो । निर्मलाले मलंगवा भन्सारका कर्मचारीहरुसित राम्रो चिनजान, सम्बन्ध रहेको र आफू सीआईबीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै भन्सारबाट स्कार्पियो गाडी छुटाइदिने प्रलोभन देखाएकी थिइन् । त्यस पछि उनले राजेश्वरको सक्कल नागरिकता र पासपोर्ट साइजका फोटोसहित १ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।
अर्का पीडित सन्तोष विश्वकर्माको ज्वेलर्स पसलबाट खरिद गरेको सुनचाँदी गरगहनाको २ लाख ७४ हजार रुपैयाँ तिर्न बाँकी थियो । विजय साह बनियाँसँग घरायसी समस्या देखाई ५ लाख रुपैयाँ सापटी लिएको प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।
पीडित प्रवीण साहको किराना पसलबाट उधारोमा सामान खरिद गरेको र स्कार्पियो गाडी भाडामा लिएर १ लाख २६ हजार रुपैयाँ नतिरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
पक्राउ परेकी निर्मलाविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डीएसपी लाबुङले बताइन् ।
