गत सोमबार निर्वाचन आयोगले उम्मेदवारको बन्दसूचीमाथि छानबिन गर्दा यादवको नाम हटाएको हो ।
राजविराज — समानुपातिक सांसदको अन्तिम बन्दसूचीबाट नाम हटाइएका श्रम संस्कृति पार्टीका उम्मेदवार सन्जीव नारायण यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।
आइतबार यादवलाई जनमत पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउत, पार्टीका मधेश प्रदेशसभा संसदीय दलको नेता तथा अर्थमन्त्री महेशप्रसाद यादवलगायतले पार्टीमा प्रवेश गराएका हुन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका–७ का यादवको नाम हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको समानुपातिक सूचीमा मधेशी कलस्टरतर्फ दोस्रो नम्बरमा सिफारिस गरिएको थियो । तर, अन्तिम बन्दसूचीमा उनको नाम छैन् ।
गत सोमबार निर्वाचन आयोगले उम्मेदवारको बन्दसूचीमाथि छानबिन गर्दा यादवको नाम हटाएको हो । पार्टीले नाम हटाउन लेखी पठाएको तथा आयोगबाट तोकिएको जरिवाना रकम भुक्तान नगरेको कारण उल्लेख गर्दै उनको नाम हटाइएको हो । यादव ०७९ मा सप्तरी क्षेत्र नम्वर ३ (१) बाट स्वतन्त्र उम्मेदवार थिए । त्योबेला उनले १ हजार ५ सय ४६ मत पाएका थिए ।
जनमतमा प्रवेश गर्नुअघि यादवले मधेशी जनताको सल्लाह–सुझावलाई विचार गर्दै पुनःमधेश केन्द्रीयत दलमा आवद्ध हुने निर्णय लिएको सामाजिक सञ्जालमा लेखेका थिए । ‘मैले केही दिन पहिला माटो छापमा जाने निर्णयलाई अधिकांश मधेशी जनता विपक्षमा प्रतिक्रिया दिइरहेको कुरालाई मध्यनजर गर्दै र सबैको सल्लाह–सुझावलाई विचार गर्दै पुनः मधेश केन्द्रीत दलमा आवद्ध हुने निर्णय गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
