रास्वपा उम्मेदवार शेख सगिर आलमको प्रचारमा हिँडेको बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिँदा बिहीबार दिउँसो ईशनाथ नगरपालिका–४ स्थित मठियाटोलका मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनको मृत्यु भएको थियो ।
What you should know
रौतहट — रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिर आलम चढ्ने कार चालक परोहा नगरपालिका–३ का मुस्ताक आलमलाई सवारी ज्यान मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप्न शुक्रबार जिल्ला अदालत लगिएको छ ।
रास्वपा उम्मेदवार आलम घरदैलो गरिरहेका बेला भएको उक्त घटनास्थलको प्रहरीले सिसिटीभी फुटेज फेला पारेको छ । प्रहरी चौकी मठियाले भने रास्वपाको घरदैलो कार्यक्रम नै नभएको भनेर झुठो बोलेको थियो ।
मठिया गाउँमा बालिकालाई ठक्कर दिएपछि स्थानीयले त्यही कारमै बालिकालाई राखेर उचारका लागि सदरमुकाम गौर ल्याएका थिए । अस्पतालमा बालिकाको अवस्था गम्भीर देखे पछि चालक फरार भए । घटनाको झण्डै ४ घण्टापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको थियो ।
रास्वपा उम्मेदवार आलमको प्रचारमा हिँडेको बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिँदा बिहीबार दिउँसो ईशनाथ नगरपालिका–४ स्थित मठियाटोलका मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनको मृत्यु भएको थियो ।
घटनास्थलनजिक रहेको मस्जिदको सिसिटीभी फुटेज प्रहरीले अनुसन्धानको लागि ल्याएको जनाएको छ । फुटेजमा रास्वपा उम्मेदवारको गाडी गाउँभित्र जाँदै गर्दा बालिका दौडिएर बाटो काट्न लागेका बेला देखिन्छ । तर चालकले भने गाडी नरोकेर सिधै अघि बढ्दा बायाँ चक्काले कुल्चिएर बालिका सडकमै ढल्छिन् ।
स्थानीयले बालिकालाई उठाएर उपचारका लागि तत्कालै गौरस्थित सिटी अस्पताल ल्याएका थिए । मठिया प्रहरी चौकीका प्रहरीले गाउँमा कुनै पार्टीको घरदैलो कार्यक्रम नभएको भन्दै झुठो बोलेका थिए । चौकीका प्रहरी सहायक निरीक्षक नारायण कुर्मी आफ्ना कर्मचारीलाई रास्वपाको घरदैलो कार्यक्रमबारे थाहा नभएर त्यसरी भनेको भन्दै पन्छिए ।
रास्वपाका उम्मेदवार आलमले बालिकालाई ठक्कर दिने बेला आफु घरदैलो कार्यक्रममा व्यस्त रहेको र गाडीमा चालक मात्र रहेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
जिल्ला प्रहरीका डिएसपी विष्णुप्रदीप बस्यालले बालिकालाई ठक्कर दिने गाडी र चालकलाई कारबाहीका लागि मृतकका बुवाले दिएको जाहेरी दर्ता गरी चालकलाई अदालतबाट म्याद थप्न लागेको जानकारी दिए । ‘हामी सिसि फुटेज हेरेर अनुसन्धान गरिरहका छौं,’ उनले भने,‘घटनामा चालकको लापरबाही हो होइन भन्ने पछि अनुसन्धानबाट खुल्छ ।’ चुनावी प्रचारमा प्रयोग गरिएको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएपछि रास्वपाले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिनमा प्रशासनलाई पूर्णसहयोग गर्ने जनाएको छ ।
