सिरहामा रोकिएन निर्वाचन आचारसंहिता उल्लंघन, अनुगमन समितिद्वारा कारबाहीको चेतावनी

राजनीतिक दल, उम्मेदवार र सञ्चारकर्मीहरुबाटै निर्वाचन आचारसंहितको उल्लंघन गर्ने कार्य भइरहेको पाइएको हो ।

माघ २३, २०८२

विनय आजाद

Election code of conduct violations continue in Siraha, monitoring committee warns of action

सिरहा — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि लागू गरिएको आचारसंहिता विपरितका गतिविधि सिरहामा नरोकिएको पाइएको छ ।

राजनीतिक दल, उम्मेदवार र सञ्चारकर्मीहरुबाटै निर्वाचन आचारसंहितको उल्लंघन गर्ने कार्य भइरहेको पाइएको हो ।

राजनीतिक दल तथा उम्मेदवारहरु ठूलो भेला गर्ने, निषेधित क्षेत्रसहितका विभिन्न स्थानमा झण्डा, व्यानर, पर्चालगायतका प्रचारात्मक सामग्री टाँस गर्ने गरेको यत्रतत्र भेटिन्छन् ।

यतिमात्र नभई कतिपय अनलाइन सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत् निश्चित उम्मेदवारहरुको प्रभाव रहेको भनी चढाइबढाइ गरेर सामग्री सम्प्रेषण गर्ने गरेका छन् ।

ती सञ्चारमाध्यमहरुले मतदातालाई कसलाई मत दिने भनी सोधेर भिडियो बनाउने र सामाजिक सञ्जालमा पोष्ट गरी मतदाताको गोपनियता भंग गर्ने कार्य गर्दै आएका छन् । जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले पटक पटक सूचना जारी गरे पनि यसको कार्यान्यवन भने हुन सकेको छैन ।

अनुगमन समितिले यस्तो कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ बमोजिम गैरकानूनी हुने र यस्तो गतिविधिमा संलग्न हुनेलाई प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडी बढाइने चेतावनी पुनः दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै समितिले यस्तो चेतावनी दिएको हो ।

'यसअघि हामीले सम्झाइ-बुझाइ गर्ने गरेका थियौं, तर यसरी हुने भएन,' सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत चेतराज बरालले कान्तिपुरसित भने, 'अब यस्तो कार्य गर्ने व्यक्तिलाई सिधै कानूनी दायरामा लैजान्छौं ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully