अस्पतालमा बिरामीबाट संकलन भएको रकममध्ये ३८ लाख ७७ हजार ७ सय २४ रूपैयाँ सरकारी खातामा जम्मा नगरी मिलेमतोमा उनीहरूले भ्रष्टाचार गरेको दाबी अख्तियारको छ ।
सिरहा — सिरहास्थित प्रादेशिक अस्पतालका दुई पूर्वप्रमुखसहित १० जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले भ्रष्टाचार मुद्दामा तत्कालीन मेसु डा. नागेन्द्रप्रसाद यादव, डा. सरोज यादव, प्रशासन प्रमुख अशोक सिंह, लेखा प्रमुख अशोक यादव, अहेव श्यामकुमार मण्डल, सहायक कम्प्युटर अपरेटरहरू पूजाकुमारी यादव, सरस्वतीकुमारी यादव, रोशन यादव, अजय मण्डल र लेखा प्रमुख मृतक मुस्कान मण्डललाई प्रतिवादी बनाएको छ ।
अस्पतालमा बिरामीबाट संकलन भएको रकममध्ये ३८ लाख ७७ हजार ७ सय २४ रूपैयाँ सरकारी खातामा जम्मा नगरी मिलेमतोमा उनीहरूले भ्रष्टाचार गरेको दाबी अख्तियारको छ । अस्पतालको बिलिङ सफ्टवेयरमा आम्दानी भएको रकम देखिए पनि बैंक भौचरमा सोहीबमोजिमको रकम जम्मा गरिएको नभेटिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालका विभिन्न ८ वटा काउन्टरबाट कुल ३ करोड ८७ लाख ६६ हजार ९ सय ७४ रूपैयाँ ८३ पैसा संकलन भएकोमा अस्पतालको अभिलेखमा ३ करोड ४८ लाख ८९ हजार २५० रूपैयाँ मात्र दाखिला भएको पाइएको छ ।
अख्तियारले बिगो असुल उपरसहित उनीहरूलाई बिगो बराबरको जरिवाना र कैद गर्नसमेत अदालतसँग माग गरेको छ ।
