सप्तरी–२ का उम्मेदवार पूर्वमन्त्री यादव भन्छन्, ‘६५ वर्ष पार गरिसकेपछि चुनाव लड्दिन’

सोमबार उनले पत्रकार सम्मेलन गर्दै शरीरले साथ नदिँदासम्म पनि राजनीति गर्ने तथा पद ओगटिरहने परिपार्टीले देशमा विकासले गति लिन नसकेको बताए।

माघ १९, २०८२

विद्यानन्द राम

Former Minister Yadav, candidate for Saptari-2, says, 'I will not contest elections after crossing 65 years of age'

राजविराज — सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट उम्मेदवारी दिएका पूर्वमन्त्री उमेशकुमार यादवले ६५ वर्ष पार गरिसकेपछि चुनाव नलड्ने घोषणा गरेका छन्।

सोमबार उनले पत्रकार सम्मेलन गर्दै शरीरले साथ नदिँदासम्म पनि राजनीति गर्ने तथा पद ओगटिरहने परिपार्टीले देशमा विकासले गति लिन नसकेको बताए।

यादवले यहाँका जनताको सम्मान र गौरवको रक्षा, आत्मनिर्णयको अधिकार, संविधान संशोधन, मानवीय र भौतिक विकासलगायतका एजेन्डा लिएर आफुले उम्मेदवारी दिएको बताए।

‘उत्पीडित समुदायको सुरक्षा, गरिब तथा सुकुम्बासीको समस्या समाधान, विकास निर्माण, कृषि क्षेत्रको विकास, युवाका लागि रोजगारका साथै राज्यका नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिताका लागि संघर्ष गर्नेछु,’ उनले भने, ‘विगतमा संविधानसभा सदस्य तथा सिँचाइमन्त्री हुँदा पनि काठमाडौंभन्दा यहाँका जनतालाई बढी समय दिएर उल्लेखनीय कार्य गरेको छु।’

यहाँका बिटौरी जग्गाका समस्या, व्यापारी पलायन, शैक्षिक संस्थाप्रति घट्दो विश्वास, खण्डहर बनेको कन्या छात्रावासलगायतका समस्या समाधान गर्ने आफ्नो प्राथमिकता हुने यादवले एजेन्डा सुनाए।

५५ वर्षीय यादव २०७० को संविधानसभा निर्वाचनमा माओवादीबाट निर्वाचित भएका थिए । २०७४ मा भने पनि माओवादीबाटै उम्मेदवार बनेका उनी पराजित भएका थिए। २०७९ मा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका उनी पराजित भएका थिए । हालै उनी जसपा प्रवेश गरेर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका  हुन् । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully