नौ दिन धाउँदा पनि नागरिकता पाएनन्

पटक/पटक कार्यालय धाउँदा दिक्क भएका साहले नागरिकता पाउन नसके पछि सोमबार सार्वजनिक रुपमै प्रशासनका कर्मचारीको आलोचना गरेका छन् ।

माघ १९, २०८२

शिव पुरी

Despite spending nine days, they did not receive citizenship.

What you should know

रौतहट — चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका ४५ वर्षीय रामविश्वास साह र छोरा रुपेशले नौ दिन धाउँदा पनि ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरबाट नागरिकता पाउन सकेका छैनन् ।

पटक/पटक कार्यालय धाउँदा दिक्क भएका साहले नागरिकता पाउन नसके पछि सोमबार सार्वजनिक रुपमै प्रशासनका कर्मचारीको आलोचना गरेका छन् । 

साहले माघ ११ गते छोरा रुपेशकुमार साहको नागरिकताको लागि ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा निवेदन पेश गरेका थिए । त्यस क्रममा बुवा रामविश्वासको नागरिकता पेश गरिएको थियो । ईलाका प्रशासनले त्यसैदिन रामविश्वासको अभिलेख फेला नपरेको भन्दै जिल्ला प्रशासनलाई पत्र पठाएको थियो । 

जिल्लामा समेत कुनै अभिलेख नभेट्टिएको जवाफ पठाएको रामविश्वासले बताए । ‘कहिले गौर जा भन्छन् । कहिले अनलाइन गराएर ल्याउनु भन्छन्,’ उनले भने,‘छोराको नागरिकता बनाउन आएको थिए । अब अहिले मेरै नयाँ नागरिकता बनाउ भन्छ । त्यो पनि यो मिलेन त्यो मिलेन भनेर झुलाएको झुलायै छन् ।’ उनले कार्यालय धाउँदा धाउँदै थाकिसकेको गुनासो गरे । 

रामविश्वासले ०५४ चैत १२ गते जिल्ला प्रशासन गौरबाट ३४२१ नम्बरको नागरिकता प्राप्त गरेका थिए । त्यसबेलाको अभिलेख अहिले प्रशासनमा छैन् । उनको नागरिकता कम्यूटर प्रणालीमा (सिआईएमएस) प्रविष्ट गर्नुपर्ने थियो । यही प्रक्रिया गर्न उनको अभिलेख नै भेट्टिएको छैन । ‘यसमा प्रशासनकै कमजोरी हो मेरो होइन,’ उनले भने,‘यसरी झुलाउने कर्मचारीमाथि कारबाही हुनुपर्छ ।’

ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख माधवप्रसाद शर्माले कागजी प्रक्रिया पूरा नभएर नबनेको भन्दै पन्छिए । ईलाका प्रशासनले रामविश्वासकै नयाँ नागरिकता बनाउनु पर्ने भन्दै सर्जजिमनका लागि माघ १५ गते प्रहरी चौकी बनबोहरीको नाममा पत्र पठाएको छ । 

चौकीका प्रहरी सहायक निरीक्षक सुरेशमान श्रेष्ठले समेत दिनहुँ बोलाएर दुख दिएको उनको गुनासो छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुजेलले रामविश्वासले नागरिकता नपाएको विषयमा आफुले गम्भीर भएर सोधपुछ गर्ने बताए । ‘म आफै यस विषयमा के भएको हो बुझ्छु,’ उनले भने,‘सेवाग्राहीले सहज ठंगले नागरिकता पाउन् भन्ने मेरो चाहना हो ।’ 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully