बेल्ही भन्सार कुशहा सडकको स्तरोन्नति कार्य सुरु हुँदादेखि नै बालबालिकाबाट मजदुरी गराइरहेको पाइएको छ।
What you should know
राजविराज — सप्तरीको बलान बिहुल गाउँपालिका–२ चन्हीस्थित बेल्ही भन्सार कुशहा सडकको स्तरोन्नति कार्यमा बालबालिकाको प्रयोग गरेको पाइएको छ।
बेल्ही भन्सार कुशहा सडक स्तरोन्नति गर्ने ठेक्का गुञ्जा कन्स्ट्रक्सन खडक नगरपालिका–८ सप्तरीले पाएको छ।
यहाँ समान्यतया मजदुरले ८ सयदेखि १ हजारसम्म ज्याला लिन्छन्। तर, कन्स्ट्रक्सनका सञ्चालक गोविन्दप्रसाद मण्डलले ४ सयदेखि ६ सय रुपैयाँसम्म दिएर बालबालिकालाई मजदुरी गर्न लगाइरहेका छन्।
बेल्ही भन्सार कुशहा सडकको स्तरोन्नति कार्य सुरु हुँदादेखि नै बालबालिकाबाट मजदुरी गराइरहेको पाइएको छ। ‘बिहान ८ बजेदेखि काम गर्न आउँछु । बेलुका फर्किन लाग्दा ठेकेदारले ५ सय रुपैयाँ दिनुहुन्छ,’ सडक निर्माणस्थलमा मजदुरी गरिरहेका एक बालकले भने ।
यो सडक स्तराेन्नतिको काम चार दिनदेखि भइरहेको छ। निर्माणमा ५/६ बालकालिकाले दैनिक मजदुरी गरिरहेका छन् । कन्स्ट्रक्सनका सञ्चालक मण्डलले बालबालिकालाई मजदुरीमा लगाएको विषय अस्वीकार गरे। ‘बालबालिकालाई काममा लगाएको छैन्। उनीहरु आफै बुवासँग आउँछन्,’ उनले भने, ‘ज्याला पनि दिएको छैन्, खाना खाएर फर्किन्छन्।’
सडक डिभिजन कार्यालय लहानले २६ मंसिर २०८२ मा गरेको सम्झौताअनुसार ३० असार २०८३ सम्ममा सो सडक भ्याटसहित २ करोड ७ लाख १३ हजार ७२ रुपैयाँको लगानीमा स्तरोन्नति हुनेछ। डिभिजन कार्यालयका प्रमुख ध्रुवकुमार झाले कन्स्ट्रक्सनले निर्माण कार्यमा बालबालिका प्रयोग गर्न नहुने बताए। ‘बुझेर तत्कालै बालबालिकाको प्रयोग रोक्ने छु,’ उनले भने।
गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले सडक निर्माण कार्यमा बालबालिकाको प्रयोग गरेको पाइए कानुन अनुसार हुने बताए। ‘ती विषय मेरो जानकारीमा आइसकेको छैन् । त्यस्तो गरेको छ भने कारबाहीको लागि सिफारिस गछौं,’ उनले भने।
